आजदेखि भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान

पुस ५, काठमाण्डौ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा आजदेखि दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप जाजरकोट र पश्चिम रुकुमसहित सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा सञ्चालन हुनेछ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दादुरा–रुबेलाविरुद्धको खोप ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइडविरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई लगाउने बताउनुभयो ।
उहाँले जाजरकोटमा दुई वर्षअघि दादुरा देखिएकाले पुनः नदेखियोस् भनेर यो पटक खोप अभियान सञ्चालन हुन लागेको बताउनुभयो । प्रभावित ठाउँमा बालबालिकामा पोषण पनि कम भएको दूषित पानीलगायतका कारण जोखिम भएकाले दादुरा–रुबेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको उहाँको भनाइ छ ।
ती जिल्लामा ६ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार जना र १६ वर्षदेखि ४५ वर्षसम्मको सङ्ख्या ६ लाख ५० हजार जना रहेको छ । आजदेखि शुरु हुने खोप अभियान यही पुस १४ गतेसम्म चल्नेछ ।