आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा कटौती गर्ने सरकारको निर्णय

पुस १६, काठमाण्डौ । सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब ६० हजार रुपैयाँ खर्च हुने गरेको थियो । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद् बैठकको खाजा कटौती भएसँगै वार्षिक करिब ६० लाख रुपैयाँ जोगिने भएको छ । मन्त्रिपरिषद् बैठकमा अब सामान्य खाजा खुवाउन शुरु गरिएको छ ।
सुशासन र सुधारमा ससाना विषय पनि महत्त्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयबाट सुधारको थालनी गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो ।
यसैबीच, नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्ताबेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ ।