सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

पुष २५, सुर्खेत । साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेको हो । एपीएफले पहिलो सेट २५–२३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१५ ले हरायो ।
यस्तै आजै भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ । पुलिसले पहिलो सेट २५–२१, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१९ ले हरायो ।
नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल भोलि बिहीवार दिउँसो १ बजे शुरु हुनेछ ।