मुगुमा नूनको कोटा बढाउन सरोकारवाला निकायको माग

पुस २५, मुगु । सरकारले मुगुमा आउने नूनको कोटा नबढाउदा मुगालीहरुले प्रयाप्त मात्रामा नून पाउन सकेका छैनन् । पछिल्लो १२ वर्षदेखि नूनको कोटा बढेन नबढेको भन्दै सरोकारवाला निकायले कोटा बढाउन माग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मङ्गलबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा जनताले नूनको लागि सास्ती पाउनुका साथै आवश्यकता अनुसारको नून नपाएको गुनासो उठेको थियो ।
बैठकमा नेपाली कांग्रेस मुगुका उपसभापति कर्णबहादुर रावलले नून दिँदा नागरिकताको फोटोकपी खोज्ने र स्वम् व्यक्ति उपस्थित हुनुपर्ने प्रावधानले जनताले सास्ती पाएका बताउनुभयो । माग अनुसार नून नपाउँदा कयौँ दिन अनिलो खाना खानु परेको गुनासो आउने गरेकाले नूनको कोटा बढाउन र माग अनुसारको नून पाउने व्यवस्था गर्न पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष राजबहादुर मल्लले नागरिकता देखाएर पाँच पाकेट नून पाइने भन्दै ५० को नून लिन सदरमुकाम बाहिरका जनताले पाँच सय बढी खर्च गर्नु परिरहेकाले वडास्तरबाटै नून वितरणको व्यवस्था मिलाउन सुझाव दिनुभयो ।
नीतिगतरुपमा वडाबाट नून वितरणको प्रावधान भए आफूहरु वडाबाट वितरण गर्न तयार रहेको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीले बताउनुभएको छ ।