एपिएफलाई हराउँदै पुलिस ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन

पुष २६, सुर्खेत । वीरेन्द्रनगरमा बिहीबार सम्पन्न ३४ औं राष्ट्रिय भलिबलप्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । साबिक विजेता सशस्त्री प्रहरी बलको एपिएफ क्लबलाई हराउदै पुलिसले उपाधि जितेको हो । फाईनलमा पहिलो सेट गुमाएको पुलिसले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जित्दै एपिएफबाट उपाधि खोसेको छ ।
रबिन चन्द नायक बनेको खेलमा सफल बिक पहल, गहतराज लगाएतका युवा खेलाडीको उत्कृष्ट प्रर्दशनसंगै पुलिसले समूह चरणमा व्यहोरेको हारको बदला पनि लिएको छ । उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी व्यक्तिगत पुरस्कारमा पनि पुलिसकै खेलाडिको वर्चस्व रहेको छ ।
पुलिसका मुख्य स्पाईकर रबिन चन्दले सर्वोत्कृष्ट खेलाडी र पहल गहतराज उदियमान खेलाडीको पुरस्कार पाएका छन् । यस्तै पुलिसकै इम रानाले उत्कृष्ट सेटर, रबिन नगरकोटीले उत्कृष्ट ब्लकर, भिम गाहा लिवेरो र प्रशिक्षकमा पनि पुलिसका चन्द्र कुँवर उत्कृष्ट छनौट भएका छन् । यस्तै एपीएफमा हेमन्त मल्ल उत्कृष्ट स्पाईकर र गन्डकीका जीवन सुनार उत्कृष्ट सर्भर भएका छन् । विहीबारै भएको खेलमा विभागिय टोली त्रिभुवन आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेस तेस्रो भएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो ।
जितसँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । पहिलो सेट २५–२२ जितेको गन्डकीले निकै प्रतिस्पर्धात्मक बने दोस्रो सेट २४ –२६ ले गुमाउन पुग्यो । यस्तै निकै रोमान्चक बनेको तेस्रो २६–२४ जितेको गण्डकीले चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै समूह चरणमा व्यहोरेको हारको बदला लिन सफल भयो ।
गण्डकीले समूह चरणमा आर्मीसँग ३–शून्यको सोझो सेटमा हार भोगेको थियो । गत २० गतेबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।
राष्ट्रिय भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा तथा कर्णाली प्रदेस सरकारको आर्थिक सहयोगमा प्रतियोगिता संचालन भएको हो ।