कृषि जैबिक विविधता संरक्षणमा जोड


सुर्खेत, १ माघ ।
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्माले कर्णालीका रैथानी कृषि उत्पादन संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
दोस्रो राष्ट्रिय कृषि जैबिक विविधता दिवसका तथा माघी पर्वको अवसरमा आज वीरेन्द्रनगर ९ पातलगंगा होमस्टेमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले परम्परागत बाली जोगाउनुपर्ने बताउनुभएको हो । कर्णालीमा पाइने स्थानीय बालीहरु स्वास्थ्यवद्र्धकसंगै बहुमूल्य भएकाले त्यसलाई जोगाउन तिर सबैले ध्यान दिनुपर्ने मन्त्री शर्माले जोड दिनुभयो । उहाँले कृषि जैविक विविधता प्रबद्र्धनका लागि कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको पनि बताउनुभयो ।मन्त्री शर्माले जैविक विविधता र माघी पर्व मानव सभ्ययता र संस्कृति संग अन्तरसम्बन्ध रहेको पनि बताउनुभयाे ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले होमस्टे मार्फत स्थानीय कलासंस्कृती र स्थानीय कृषि वस्तुको प्रबद्र्धन गर्न सकिने बताउनुभयो । परम्परागत स्थानीय कृषि उत्पादन र होमस्टे पर्यटन व्यवसाय मार्फत समुदायले लाभ लिनसक्ने भएकाले प्रदेश र स्थानीय सरकारले त्यस्ता कार्यक्रम बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नरहरी प्रसाद घिमिरेले आगामी दिनमा कर्णाली प्रदेशका रैथानी कृषि विविधता संरक्षण गर्ने खालका कार्यक्रमलाई बढोत्तरी दिने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका कृषि प्रसार अधिकृत धनबहादुर कठायतले कृषि जैबिक विविधतामा नेपालको अवस्था बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । माघी पर्वको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय थारु समुदायका परिकार, कर्णाली प्रदेशका रैथाने कृषि उपजहरुको पनि प्रदर्शन गरिएको आयोजक होम स्टे महासंघ कर्णाली प्रदेशका सचिव डिलबहादुर चौधरीले जानकारी दिनुभयो । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, ग्रिन कर्णाली परियोजनाको सहकार्यमा होमस्टे महासंघ नेपाल कर्णाली प्रदेशले आयोजना गरेको उक्त कार्यक्रम महासंघका कर्णाली प्रदेश अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।