एकल महिला सुरक्षा कोष सञ्चालन गर्न माग

सुर्खेत, ४ माघ ।
एकल महिला सुरक्षा कोष सञ्चालनका लागि प्रक्रियागत रुपमा अगाडि बढाउनुपर्ने माग गर्दै मानव अधिकारका लागि महिला,एकल महिला समूह सुर्खेतले वीरेन्द्रनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
स्थानीय तहमा रहेका विपन्न एकल महिलाहरु कोष मार्फत् सहयोग लिन बञ्चित भएको हुँदा कोष कार्यान्वयन गर्न माग गर्दै एकल महिला समूहले बिहीबार ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपाल सरकार महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिला सशक्तिकरण, क्षमता तथा मर्यादा अभिवृद्धि गरि सामाजिक र आर्थिक दृष्टिले कमजोर एकल महिलाहरुको हित र संरक्षणका लागि एकल महिला सुरक्षा कोषको स्थापना गरेको थियो । त्यतिवेला जिल्लास्थित महिला बालबालिका कार्यालय मार्फत उक्त कोष सञ्चालन गरिएको थियो । संघीयता कार्यान्वयनपछि भने जिल्लामा महिला बालबालिका कार्यालय खारेज भएपछि कोष सञ्चालन हुनसकेको छैन् । स्थानीय तह मार्फत कोषको सञ्चालन गर्नका लागि मन्त्रालयले परिपत्र गरिसकेको तर स्थानीय तहहरुबाट सञ्चालन हुन नसकेको एकल महिला समूह सुर्खेतकी अध्यक्ष ममता नगालले बताउनुभयो । साथै उहाँले कोषले समस्यामा परेका एकल महिलाहरुलाई राहत पुग्ने भन्दै कोष सञ्चालन गर्न आग्रह गर्नुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख मोहनमाया ढकालले प्रक्रियागत कुरा बुझी कोष सञ्चालनको काम अघि बढाउन सम्बन्धित शाखा प्रमुखलाई निर्देशन दिनुभएको छ । सबै प्रक्रिया पूरा गरेर चाँडै कोष सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।