समाजसेवी जयन्ती थापा द्वारा अक्षयकोष स्थापना


सुर्खेत, ११ माघ ।
समाजसेवी जयन्ती थापाले लेकवेशी नगरपालिका वडा नम्वर ९ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय पोखरा भञ्ज्याङ्गमा अक्षय कोषको स्थापना गरेकी छन् । आफ्नो बैबाहिक जिवनको २५ औँ बर्षगाठको उपलक्ष्यमा १ लाख ५० हजारको शुशिल जयन्ती छात्रवृत्ती अक्षयकोषको स्थापना गरेकी हुन । विद्यालयलाई उनकी आमा पार्वती थापाले चेक हस्तान्त्रण गरेकी हुन् । यस अघी पनी उक्त विद्यालयमा उनले न्यानो कपडा वितरण गरेकी थिईन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ घर भई लामो समयदेखी हाल अमेरिकामा बस्दै आएकी थापाले टुहुरा गरिव तथा जेहेनदार बालबालिकाहरुलाई सहयोग गर्दै आएकी छन् । उनको भौतिक शरीर अमेरिकामा भएपनि मन भने नेपालमा रहेको र ती टुहुरा, असहाय, विपन्न, पिडित बालबालिकामा समर्पित गरिरहेकी छन् । विषेश गरी उनले शिक्षा क्षेत्रमा धेरै सहयोग गर्दै आएकी छन् ।
दैलेखको ग्रामीण भेगमा जन्मेकी समाजसेवी थापाको प्रारम्भिक शिक्षा दैलेखमा सुरु भयो । उनले ५ कक्षासम्म सोही ठाउँमा पढिन् । पछि माथिल्लो पढाई सुर्खेतमा आएर एसएलसी, आईएड र स्नातक उत्तिर्ण गरिन । काठमाडौमा आएर त्रिभूवन विश्वविद्यालयवाट समाजशास्त्र विषयमा स्नातकोेत्तर गरिन् ।
समाजमा अभावको पिडाले खेपिरहेकाहरुको ती दृश्य र उनमा सानै देखि समाजका लागि केही गर्नु पर्छ भने सोचले उनले समाज सेवा गरिरहेकी छन् । सन् २००८ मा रुकुममा सृजनसिल महिला विकास केन्द्र नामक संस्था स्थापना गरेर दुई बर्ष महिला हिंसा र विभेद विरुद्ध सामाजिक अभियान चलाईन् । भने दुई बर्ष रुकुममै अध्यापन पनि गराईन ।