कर्णालीमा वर्षासँगै हिमपात, किसान खुसी

माघ १८, सुर्खेत । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोटमा आज यस वर्षकै पहिलो हिमपात भएको छ । गएको वर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । जुम्ला सदरमुकाम खलङ्गासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ ।
ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएका जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिनुभयो । माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसानलाई भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।
माथिल्लो कर्णालीमा हिमपात शुरु भएसँगै हवाई सेवा अवरुद्ध भएको छ । यसैबीच, हुम्लामा पनि गएरातिदेखि हिमपात भएको छ । हुम्लामा यो वर्ष तेस्रो पटक हिमपात भएको हो । हिमपात भएसँगै किसान खुसी भएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका अरु उच्च पहाडी भेगका केही ठाउँमा पनि हिमपात भएको छ ।