बालकुमारी घटना जाँचबुझ गर्न बनेको आयोगको म्याद १५ दिन थप

माघ २२, काठमाण्डौ । ललितपुरको बालकुमारीमा एक महिना अगाडि भएको घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ आयोगको म्याद १५ दिन थप भएको छ ।
बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाको विषयमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको मृत्यु भएको  थियो भने मन्त्रीको गाडी जलाइएको थियो । यस घटनाको छानबिन गर्न मन्त्रिपरिषद्ले पुस १६ गते गठन गरेको जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम नसकिएकाले म्याद थपिएको हो ।