दादुरा–रुवेलाको विरुद्धको खोप सुरक्षित र प्रभावकारी

फागुन १२, काठमाण्डौ । भोलिदेखि शुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन सरकारले अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेकाले सबै बालबालिकालाई लगाउन अनुरोध गर्नुभयो ।
दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भोलिदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको हो । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गुणस्तरययुक्त भनी प्रमाणित भएको र औषधि व्यवस्था विभागले मान्यता दिएकाले खोप सुरक्षित रहेको बताउनुभयो ।
उहाँले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले खोप लगाएपछि बच्चामा समस्या हुने भएकाले जिल्लामा आकस्मिक उपचारको टोली गठन गरिएको बताउनुभयो । खोप भारतसँग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाण्डौ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ ।
यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ । जाजरकोट र पश्चिम रुकुममा गएको कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप शाखाका प्रमुख डा. गौतमका अनुसार यस अवधिमा हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्ल्युन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियो विरुद्धको खोप पनि सञ्चालन हुने छ ।
ती खोप लगाउन छुटेका नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई लगाइने उहाँले बताउनुभयो । अबको दुुई वर्षभित्र अर्थात सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।