आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश


फागुन १४, काठमाडौं । आर्थिक वर्ष २०८१÷०८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको हो ।
उहाँले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र क्रमश सकारात्मक दिशातर्फ उन्मुख भइरहेको दावी गर्नुभयोे । अर्थमन्त्री महतले विद्युत उत्पादनमा र पर्यटन आवागमन संख्यामा वृद्धि हुनुको साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको बताउनुभयो ।
बैंकिङ क्षेत्रमा पर्याप्त तरलता,ब्याजदर एकल बिन्दुतिर झर्ने क्रममा रहेको र निक्षेप कर्जा प्रवाहमा क्रमश वृद्धि भएको उहाँको भनाइ छ । घर जग्गा कारोबार र पुँजीबजार सुधार उन्मुख भइरहेको उहाँको भनाइ छ ।
राजश्व संकलन लक्ष्यअनुसार नभएपनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेपनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतिमुक्त हुन नसकेको उल्लेख गर्नुभयो ।