अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

फागुन २५, काठमाण्डौ । आज विश्वभर ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
यस वर्षको नारा ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ रहेको छ । पछिल्लो समय सामाजिक न्याय र लैङ्गिक समानताको हकमा नेपालले धेरै प्रगति गरेको छ । शिक्षा र स्वास्थ्य तथा राजनीतिक सहभागितामा महिलाको पहुँचका सन्दर्भमा नेपाल धेरै सकारात्मक उपलब्धि हासिल गर्दै दक्षिण एसियामा अग्रपंक्तिमा पुगेको छ ।
महिलाको विकास लक्षित कार्यक्रमले महिलालाई मात्र होइन, देश, समाज सबैलाई फाइदा पु¥याएको छ । छोराछोरीलाई समान शिक्षा दिने विषय कानुनी बाध्यता मात्र होइन चलनकै रुपमा विकास भएको छ । केही समय अघिसम्म बिहे भएका बुहारीले पढ्ने भनेको विरलै थियो तर अहिले बुहारीले पनि पढाइलाई निरन्तरता दिन पाएका छन् ।
शिक्षा र स्वास्थ्यमा महिलाको पहुँचमा नेपालले सकारात्मक उपलब्धि हासिल गरेको छ । छाउगोठ, बोक्सी लगायतका कुरीतिको अन्त्य भइरहेको छ । लघुवित्त, सामुदायिक वन, स्वास्थ्य स्वयंसेविका लगायतका कार्यक्रमले महिलाले गाउँघरमा पनि नेतृत्वको अवसर पाएका छन् । राजनीतिक रुपमा पनि महिला अब नेतृत्वदायी स्थानमा छन् ।
अहिले ३३ प्रतिशत महिला सङ्घीय संसद्मा नै छन् । पालिकामा झण्डै ५० प्रतिशत महिला छन् । राष्ट्रपति, सभामुख, प्रदेश प्रमुख लगायतका पदमा महिला पुगिसकेका छन् । राजनीतिक सहभागिता, सामाजिक रुपमा सचेतना, शिक्षा, स्वास्थ्य जस्ता जीवन यापनका आधारमा पहुँच, रोजगारीमा पहुँच हेर्दा नेपालले धेरै फड्को मारेको छ ।