राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

फागुन २८, काठमाण्डौ । भोलि हुने राष्ट्रिय सभाका अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।
साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ । राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुँदैछन् । दुवै दलले आआफ्ना उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
हिजो बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीका धेरैजसो नेताहरुले ६ वर्षे कार्यकाल भएकाबाट अध्यक्षको उम्मेदवार बनाउन दबाब दिए पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का भाइसमेत रहेका दाहाललाई उम्मेदवार बनाउने निर्णय भएको हो । पार्टीको यो निर्णयमा माओवादीका केही नेताहरुले असन्तुष्टि जनाएका छन् । राष्ट्रपतिबाट मनोनीत दाहालको कार्यकाल चार वर्षपछि सकिँदैछ ।
यस्तै नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि कांग्रेसमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा भए पनि जित्न नसक्ने अवस्था भएपछि नयाँ उम्मेदवार खडा गरिएको हो ।