सुर्खेत, २८ फागुन । सबै नागरिकहरुको अपनत्व हुने गरी सेवा प्रवाह गर्न वीरेन्द्रनगरका वडा अध्यक्ष तथा शाखा प्रमुखहरुलाई नगर प्रमुख मोहनमाया ढकालले सुझाव दिनु भएको छ । समावेशीता र समावेशी नेतृत्व सम्वन्धी वीरेन्द्रनगरमा २ दिन सम्म भएको छलफल कार्यक्रमको समापन सत्रमा बोल्दै नगर प्रमुख ढकालले यस्तो सुझाव दिनुभएको हो । उहाँले नगरपालिकाले बनाउने निति तथा कार्यक्रमहरु सबै प्रकारका नागरिकहरुलाई समावेशी तवरबाट समेट्ने गरी बनाउने गरेको समेत दाबी गर्नुभयो । स्थानिय सरकार सवलिकरण कार्यक्रम अन्तरगत द एसिया फाउन्डेसन अस्ट्रेलिएन एड तथा दलित महिला केन्द्र नेपालको आर्थिक सहयोग र वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा आईतबार र सोमवार २ दिन सम्म छलफल कार्यक्रम गरिएको हो । प्रभावकारी र समावेशी सुशासान कार्यक्रम अन्तरगत वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधी तथा शाखा प्रमुखहरु संग छलफल कार्यक्रम गरिएको दलित महिला केन्द्र नेपालकी सुर्खेत जिल्ला कार्यक्रम संयोजक धर्मा शुवेदीले जानकारी दिनुभयो । समुहगत रुपमा गरिएको छलफलमा विभिन्न समुहले समुदायमा गर्ने विभिन्न क्रियाकलापहरुको बारेमा कार्ययोजना निर्माण गरी प्रस्तुत गर्नुभएको थियो । वडा पालिकाहरुले कार्ययोजना निर्माण गर्दा सबैको समावेशिता हुने गरी योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने वडा नम्वर ११ का वडा अध्यक्ष खिमलाल देवकोटाले बताउनुभयो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुखहरु, द एसिया फाउन्डेश कर्णाली प्रदेश संयोजक विशाल आचार्य, दलित महिला केन्द्र नेपालकी सुर्खेत कार्यक्रम संयोजक धर्मा शुवेदी लगाएको सहभागिता रहको कार्यक्रममा जया लुईटेलले प्रशिक्षण दिनु भएको थियो ।