विश्व स्वाथ्य दिवसका अवसरमा प्रभातफेरी


सुर्खेत, २५ चैत ।
आज विश्व स्वास्थ्य दिवस विविध कार्यक्रम गरी मनाइदै छ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवसको नेपालमा यस वर्षको नारा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने रहेको छ ।
स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ ।
सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो। जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अभैm सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रत्याभुत गरेको छ। विश्व स्वास्थ्य दिवसको शुभकामना दिनुहुँदै कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव दिर्घ बहादुर पोख्रेलले कर्णालीवासीमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नीतिगत व्यवस्था गर्नुका साथै स्वास्थ्य कर्मीको क्षमता अभिबृद्धिमा हरसंभव प्रयास गरिरहेको बताउनुभएको छ ।


दिवसका अवसरमा आज विहान वीरेन्द्रनगरमा प्रभातफेरी गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजनमा वीरेन्द्रनगरस्थित विभिन्न संस्थामा स्वास्थ्य विषय अध्ययनरत विद्यार्थी, स्वास्थ्यकर्मी, स्वास्थ्य सम्बन्धि काम गर्ने संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा प्रभावतफेरी निकालिएको थियो । पिपलचाैतारास्थित प्रभातफेरी समापनमा बाेल्दै कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काले यस दिवसले हरेक व्यक्तिलाई स्वस्थकर व्यवहार अबलम्बन गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयाे ।  कर्णाली प्रदेश अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेण्ट फिजिसियन डा‍ के एन पाैडेलले स्वस्थ रहनका लागि आहार विहार व्यायम र स्वस्थ्य जीवनशैली अपनाउनुपर्ने बताउनुभयाे । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख बृष बहादुर शाहीले स्वास्थ्य सम्बन्धी जनचेतना फैलाएर दिवस मनाइने बताउनुभयाे ।