कर्णाली प्रदेशको चौथो मुख्यमन्त्रीमा यामलाल कंडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको चौथोे मुख्यमन्त्रीमा एमाले कर्णाली संसदिय दलका नेता यामलाल कंडेल नियुक्त हुनु भएको छ । कँडेललाई मुख्यमन्त्री बनाउन गठबन्धनले दाबी पेस गरे संगै प्रदेश प्रमुख तिलक परियारले कंडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । नवनियुक्त मुख्यमन्त्री कंडेलको पद तथा गोपनियताको फिथ भने भोली हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुख तिलक परियारसमक्ष एमाले–माओवादी र नेकपा एसका गरी कूल २३ सांसदले हस्ताक्षर सहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए । यसअघि माओवादीबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर दलहरूलाई आह्वान गर्नुभएको थियो ।
२०१८ साल कात्तिक २५ गते गुराँस गाउँपालिका वडा नम्वर ४ गाईबान्ना दैलेखमा जन्मिनु भएका नव नियुक्त मुख्यमन्त्री कडेल वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ४ भैरवस्थानमा बस्दै आउनु भएको छ । उहाँले त्रिभुवन विश्व विद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर र शिक्षा शास्त्रमा स्नातक गर्नु भएको छ भने । २०३६ सालमा सुर्खेतको दशरथपुरमा पंचायती शासकविरुद्ध किसान आन्दोलन पश्चात राजनितिमा सक्रिय बन्दै आउनु भएको थियो । २०७९ सालमा सुर्खेतको प्रदेशसभा निर्वाचन २ (क) बाट पुनः कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
यस अघिका मुख्यमन्त्री राज कुमार शर्माले विश्वासको मत लिने तयारी गरे पनि गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार केन्द्रबाट माओवादी नेतृत्वले दबाब दिएपछि उहाँले राजीनामा दिनुपर्ने अवस्था आएको हो ।
१० पुस २०७९ मा माओवादी–एमालेबिच बनेको गठवन्धन भत्किएपछि २६ चैत २०७९ मा सरकारबाट बाहिरिएको एमाले त्यसको ठिक एक वर्षपछि सरकारको नेतृत्वसहित सरकारमा गएको होे । उति बेला एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री बन्नु भएको थियो भने एमालेबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका थिए ।