चिङ्गाडका सरोकारवालाको प्रश्न-गाउँपालिका केन्द्रको अन्याैलता कहिलेसम्म ?


सुर्खेत, २९ चैत ।
सुर्खेतको चिङ्गाड गाउँपालिकाका सरोकारवाला नागरिकहरुले गाउँपालिकाको स्थायी केन्द्रका सन्दर्भमा देखिएको विवाद चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।
गाउँपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी सरोकारवालाहरुले सात बर्षसम्म पनि स्थायी केन्द्रको टुङ्गो नलाग्दा जनताले सास्ती खेप्नुपरेको भन्दै आक्रोस पोखेका हुन् । ‘स्थानीय सरकार बनेको दुई कार्यकालसम्म पनि पालिका केन्द्रको टुङ्गो लाग्न सकेको छैन यसमा कसको हात छ ? वडा नं. २ का तिलबहादुर खड्काले कार्यक्रममा प्रश्न गर्दै भन्नुभयो ‘नेतृत्वले यसको निकास चाँडै निकालोस ।’ यस्तै वडा नं. ३ का भूवनसिंह जिसीले पालिकाको अस्थायी केन्द्र एक ठाउँ र बैंक अर्काे ठाउँ हुँदा आफूहरुले सास्ती खेप्नु परेको भन्दै चाँडै केन्द्रको विवाद टङ्ग्यार एकै ठाउँबाट सेवा दिनुपर्नेमा जोड दिनुभयो । सहभागीहरुले उठाएका प्रश्नको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष बोधबिक्रम जिसीले गाउँपालिकाको केन्द्र विवाद समाधानका लागि आफूले पटक पटक पहल गर्दा पनि असफल भएको बताउनुभयो । ‘मतदानबाट टुङ्गीसकेको विषयमा त्यसबेलाका साथीहरुले अदालतसम्म पु¥याउनुभएको छ’ अध्यक्ष जिसीले भन्नुभयो,‘अदालती प्रक्रिया विपरित हामी जान त मिल्दैन तर आपसी सहमति जुटेमा मुद्धा फिर्ता लिन सकिन्छ की भनेर मैले सर्वदलिय बसाईका लागि आह्वान गरे तर साथीहरुको सहभागिता भएन ।’ पालिका केन्द्रका विषयमा सर्वाेच्व अदालतमा बिचाराधिन मुद्धा रहेकाले अहिले फैसला कुर्दा कुर्दै समय वितेको अध्यक्ष जिसीले बताउनुभयो । यद्यपि दुबै पक्षको सहमति भए मुद्धा झिकेर काम गर्न सक्ने विकल्पमा पनि छलफल गर्न सबै सरोकारवाला सकरात्मक हुनुपर्ने अध्यक्ष जिसीले आग्रह गर्नुभएको छ ।


अघिल्लो कार्यकालमै गाउँसभाबाट बहुमतले गाउँपालिकाको स्थायी केन्द्र वडा नं. २ पुङखेतमा तोकिएको थियो भने उक्त निर्णय विरुद्ध अदालतमा मुद्धा परेको थियो । उच्च अदालत सुर्खेतबाट गाउँसभाले गरेको निर्णयकै पक्षमा फैसला भएपनि अर्काे पक्षले सर्वाेच्व अदालतमा रिट दिएको छ । सर्वाेच्व अदालतबाट पटक पटक पेसी सर्दा गाउँपालिकाको स्थायी केन्द्रका विषयमा अन्यौलता नै रहेको छ ।
शिक्षाको विकासमा चासो
कार्यक्रममा सहभागी सरोकारवालाहरुले गाउँपालिकाको समृद्धिका लागि शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
सहभागी सरोकारवालाहरुले शिक्षा क्षेत्रको सुधार गरे मात्रै चिङ्गाडवासीको समृद्धि आउने भन्दै त्यसमा ध्यान दिन सुझाव दिएका हुन् । वडा नं. २ मा कार्यरत शिक्षक चक्रबहादुर खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिने भने गाउँपालिकाले त्यस बमोजिम योजना तथा कार्यक्रम नबनाएको भन्दै गुनासो गर्नुभयो । उहाँले गाउँपालिकाबाट समयमै शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने, वडा नं. २ को रहकुल आधारभूति विद्यालयमा भएको विवाद समाधान गर्नुपर्ने साथै कक्षा आठको परीक्षालाई व्यवस्थित गर्नुपर्ने सुझाव राख्नुभयो । यस्तै शिक्षक उदय बहादुर खत्रीले गत बर्ष गाउँपालिकाले कक्षा आठको परीक्षालाई प्राथमिकता दिएर वास्तविक मूल्यांकन गरेपनि त्यसपछि आएको नतिजालाई विश्लेषण गरी योजना बनाउन ध्यान नदिएको भन्दै प्रश्न गर्नुभयो । उहाँले गाउँपालिकाबाट विद्यालय अनुगमनको काम प्रभावकारी हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । कार्यक्रमका सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष जिसीले पढ्दै कमाउदै लगायत शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गरेपनि सोचेअनुरुप अझै प्रभावकारी हुन नसकेको स्वीकार गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रको विकासका लागि सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको भन्दै साथ दिन आग्रह गर्नुभयो । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तुलसी केसीले आगामी शैक्षिक सत्रको क्यालेण्डर बैशाखभित्रै सबै विद्यालयमा पु¥याउने, विद्यालय अनुगमनलाई प्राथमिकता दिने तथा शिक्षा क्षेत्रमा देखिएका कतिपय विवादहरु समाधान गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै कार्यक्रममा सहभागीहरुले द्वन्द्व पीडित नागरिकहरुका लागि गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने, टोल विकास संस्थाहरुलाई सक्रिय बनाउनुपर्ने, विकास निर्माणमा पक्षपात नगरी बढी आवश्यकतालाई प्राथमिकता दिनुपर्ने, कृषि शाखाबाट सञ्चालन हुने अनुदानका कार्यक्रम पारदर्शी हुनुपर्ने, गाउँपालिकाले प्रभावकारी रुपमा सूचना सम्प्रेषण गर्नुपर्ने, अनुगमन सुपरीवेक्षण, प्राविधिक सेवा प्रभावकारी बनाउनुपर्ने लगायतका सुझाव दिएका छन् । सहभागीले उठाएका प्रश्नको जवाफमा गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी रोकायले सहभागीहरुले दिएका सुझावहरुलाई आगमी दिनमा आत्मसाथ गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यालय प्रमुख समिक्षा सोमैले गाउँपालिकाबाट हुने सेवा प्रवाहलाई छरितो सरल र प्रभावकारी बनाउनका लागि ऐन नियमभित्र रहेर प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले विकास निर्माणमा गुणस्तरीयता एवं सुशासन कायम गर्न सेवाग्राहीले दिएका सु्झावहरुलाई ग्रहण गरी आगामी दिनमा सेवा प्रवाहलाई थप सुधार गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।