आजदेखि नयाँ वर्ष २०८१ शुरु

बैशाख १, काठमाण्डौ । आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन, देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विक्रम संवतको पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ ।
नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ । यस्तै आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ ।
आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता –असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउनको लागि योजना निर्माण एवम् सङ्कल्प गर्ने गर्छन् । आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने, तथा आफन्त, परिवार र साथीभाईसँग भेटघाट गर्दै मिस्ठान्न भोजन बनाएर खाने चलन छ ।