आर्थिक वर्षको नौ महिनामा पूँजीगत खर्च ३२ प्रतिशत मात्रै, विकासे कार्यालयहरुमा चटारो

बैशाख २, काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमास सकिदासम्म पुँजीगत खर्च ३२ दशमलव २४ प्रतिशतमात्रै भएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च भएको हो ।
सरकारले समयमै योजना सम्झौता लगायतका काम गरेर आर्थिक वर्षको अन्त्यमा हतारहतार काम गर्ने चलनलाई रोक्ने बताए पनि नौ महिनासम्ममा खर्च निकै कमजोर भएको हो । अब बाँकी तीन महिनाामा ७० प्रतिशत बजेट कार्यान्वयन गर्नुपर्ने भएपछि विकासे कार्यालयहरुमा चटारो बढेको छ । आर्थिक वर्षको अन्त्यतिर हुने कामको गुणस्तर नहुने भन्दै विरोध भइरहँदा पनि सरकारले त्यसलाई सुधार गर्न सकेको छैन ।
सरकारले नौ महिनामा चालुतर्फ भने ५६ दशमलव ४१ प्रतिशत खर्च गरेको छ । अहिलेसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् नौ खर्ब नौ अर्ब ३९ करोड १४ लाख रुपैयाँ बराबर रहेको छ । बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलनको अवस्था पनि कमजोर छ ।
नौ महिनामा लक्ष्यको ५२ दशमलव पाँच प्रतिशत मात्रै सङ्कलन भएको छ । चालु आर्थिक वर्षको लागि १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख रुपैयाँ असुली भएको छ ।