लगन नजुरेको कर्णाली लगानी सम्मेलन


गोविन्द खत्री
सुर्खेत, ८ बैशाख ।
कर्णाली प्रदेश सरकारले प्रदेशसभाको पहिलो कार्यकालको सुरुदेखि नै लगानी सम्मेलन गर्ने योजना अघि सारेको थियो । आर्थिक बर्ष २०७६÷०७७ देखि नै सरकारले आफ्नो बार्षिक नीति तथा कार्यक्रम र बजेटमै लगानी सम्मेलन गर्ने योजना समावेश गरेपनि सम्मेलन आयोजना भने हुन सकेन् ।
सुरुको बर्ष सम्मेलका लागि कुनै तयारी नै गरिएन भने ०७८ बैशाखमा आयोजना गर्नेगरी तयारी समिति बनाइयो । कर्णाली प्रदेश योजना आयोगका तत्कालीन सदस्य योगेन्द्र शाहीको संयोजकत्वमा तयारी समिति बनाइएको थियो । प्रदेश सरकारले अन्तिममा आएर कोभिड महामारीको कारण देखाएर सम्मेलन आयोजना गरेन् । २०७८ कात्तिकदेखि नेपाली काँग्रेसका जीवन शाही प्रदेश सरकारको नेतृत्वमा आउनुभयो ।
२०७९ पुससम्म सरकारको नेतृत्व गर्नुभएका शाहीले आफ्नो कार्यकालमा लगानी सम्मेलनको योजनालाई प्राथमिकतामा राख्नुभएन् । बरु योजना आयोगको औचित्यमाथि प्रश्न उठाउँदै उहाँले आफ्नो कार्यकालमा आयोग नै गठन गर्नुभएन् । दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीका रुपमा माओवादीका राजकुमार शर्मा आएपछि पुन योजना आयोगसंगै लगानी सम्मेलनको योजना पनि विउझियो । शर्माले आयोगको उपाध्यक्षमा पूर्व सदस्य समेत रहेका योगेन्द्र शाहीलाई नियुक्त गर्नुभयो । शर्मा नेतृत्वको सरकारले यही बैशाखमा लगानी सम्मेलन आयोजना गर्ने योजना बनाएको थियो । यही बैशाख १९ र २० गते प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्णाली लगानी सम्मेलन गर्ने सरकारको तयारी थियो । सम्मेलनको तयारीका लागि मुख्यमन्त्रीको नेतृत्वमा निर्देशक समिति र अन्य विभिन्न उपसमिति गठन गरिएको थियो । ०८० फागुनमा केन्द्रीय सत्ता गठबन्धन फेरिएपछि कर्णालीमा पनि त्यसको असर प¥यो जसले गर्दा लगानी सम्मेलनको तयारीमै अलमल भयो । तर चैत २१ गते मुख्यमन्त्रीबाट शर्माले राजिनामा दिएपछि मुख्यमन्त्री कै अध्यक्षतामा रहेको आयोग पनि स्वतह विगठन भयो । ‘कर्णालीमा लगानी भित्र्याउने लगानी सम्मेलनको आवश्यकता पहिले देखि नै ठानिएकाले हामीले यही बैशाखमा जसरी पनि सम्मेलनको आयोजना गर्ने मानसिकता बनाएको थियौँ’ आयोगका निवर्तमान उपाध्यक्ष शाही भन्नुहुन्छ,‘तर यहीबीचमा सरकार परिवर्तन भैहाल्यो ।’ पूर्व उपाध्यक्ष शाहीका अनुसार संघ सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनको दुई दिन पछि कर्णालीमा सम्मेलन गरेर काठमाण्डौँमा आएका लगानीकर्तालाई कर्णालीमा पनि ल्याउने योजना थियो । एक महिना अघि नै सरकार परिवर्तनको संकेत भएपछि भने सम्मेलनको तयारी रोकिएको शाहीले बताउनुभयो । उहाँका अनुसार सम्मेलनका लागि सम्मेलनमा प्रस्तुत गर्नका लागि परियोजनाको अवधारणापत्र निर्माण, विकास साझेदार, नीजि क्षेत्र र गैरआवासिय नेपाली संघ संग समन्वय लगायतका तयारी गरिसकिएको शाहीले बताउनुभयो । उहाँका अनुसार सम्मेलनमा ठूला लगानी कर्तालाई संघ मार्फत कर्णालीमा लगानी गर्न लगाउने, विकास साझेदारहरुलाई एउटा बास्केट फण्ड र परियोजना बनाएर लगानी गर्न लगाउने साथै मझौला तथा साना उद्यमशीलताका परियोजनामा प्रदेश सरकार मार्फत लगानी जुटाउने गरी तयारी गरिएको थियो ।
चैत २७ गतेयता एमालेका यामलाल कंडेल कर्णालीको मुख्यमन्त्री हुनुहुन्छ । हालसम्म मन्त्री परिषद गठन हुन सकेको छैन् । जसले गर्दा यस बर्ष लगानी सम्मेलन गर्ने संभावना लगभग टरेको देखिन्छ । यद्यपि लगानी सम्मेलन कर्णालीका लागि आवश्यक रहेको पूर्व उपाध्यक्ष शाहीको दाबि छ । ‘संघ सरकार मार्फत आउने कतिपय ठूला आयोजनामा देशकै अन्य प्रदेशमा लगानी भैरहँदा कर्णालीमा लगानीकर्ता आउन सकेका छैनन्’ शाहीले भन्ुनुभयो,‘बाहिर कर्णालीमा लगानीको वातावरण नै छैन भन्ने हल्ला छ त्यसलाई चिर्नका लागि भएपनि लगानी सम्मेलन गर्न आवश्यक देखिन्छ ।’
कर्णाली प्रदेशमा जलविद्युत, पर्यटन, जडिबुटी, खानी खनिज लगायतका प्रचुर संभावना भए पनि हालसम्म लगानीको अवस्था कम्जोर छ । हालसम्म कर्णालीमा एउटा पनि ठूलो उद्योग सञ्चालनमा छैन । लगानीकर्तालाई प्रदेश सरकारले आकर्षित गर्न नसकेको नीजि क्षेत्रको भनाई छ । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदम बहादुर शाही विगतदेखि नै लगानी सम्मेलन गर्छु भन्ने तर आयोजना गर्न नसक्नु विडम्बना भएको बताउनुहुन्छ । कर्णालीको विकासका लागि लगानीकर्तालाई कर्णालीमा आकर्षित गर्ने योजना प्रदेश सरकारले बनाउनुपर्ने अध्यक्ष शाहीको भनाइ छ । लगानी सम्मेलनका लागि महासंघ हरदम सहयोग गर्न तयार रहेको शाहीले बताउनुभयो । साथै सरकारका तर्फबाट उद्योगी व्यावसायीलाई दिने सुविधा, सहुलियत, आवश्यक पूर्वाधार निर्माण लगायतका कुरामा सरकार तर्फबाट स्पष्ट पार्नुपर्ने शाहीको सुझाव छ ।
कर्णाली प्रदेश आफैमा जडीबुटीको भण्डारका रुपमा परिचित छ । यस्तै शे–पmोक्सुण्डो ताल, रारा ताल र लिमी उपत्यका, लगायत दर्जनौँ धार्मिक तथा ऐतिहाँसिक पर्यटकीय क्षेत्र रहेका छन् । यस्तै सिमेन्ट, रत्न पत्थर, लगायत खानी खनिजको पनि कर्णालीमा राम्रो संभावना रहेको छ । तर कर्णालीका यी संभावनाले लगानी पर्खिरहेको देखिन्छ ।