चार वर्षको अवधिमा कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु, ६७ करोड ९७ लाख बढी धनमालको क्षति

बैशाख १०, सुर्खेत । कर्णालीमा चार वर्षको अवधिमा आगलागीका घटनामा परेर ५५ जनाको मृत्यु भएको छ । भने ६३ जना घाईते भएका छन् । आर्थिक वर्ष २०७७÷०७८, ०७८÷०७९, ०७९÷०८०, को चैत मसान्त सम्मका कर्णालीका १० वटै जिल्लामा भएको आगलागीका घटनामा ५५ जनाको मृत्य भएको हो ।
आगलागीबाट चार वर्षको अवधिमा ६७ करोड ९७ लाख ३२ हजार बराबरको धनमालको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एवं प्रहरी बरिष्ठ उपरिक्षक विर बहादुर ओलीले बताउनुभयो  ।
आगलागीका घटनामा परी सबैभन्दा बढी मानवीय क्षति कालिकोटमा भएको छ । कालिकोटमा १३ जनाको मृत्यु भएको डोल्पामा ८ जना, सल्यानमा ७, सुर्खेत र जुम्लामा ६–६ जना, दैलेखमा ५, मुगुमा ४, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई–दुई जनाको मृत्यु भएको छ ।
यस्तै, कर्णालीका १० वटा जिल्लामा चार वर्षमा आगलागी घटनाबाट ६३ जना घाईते भएका छन् । दुई सय ७८ घर परिवार विस्थापित हुदा ३ सय ५८ पशुचौपायाको क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।
चार वर्षको अवधिमा सबै भन्दा बढी जुम्ला एक सय २३ घर परिवार विस्थापित भएका छन् । सल्यानमा ४०, जाजरकोटमा ३३, कालिकोटमा ३१, रुकुम पश्चिममा २५, सुर्खेतमा २०, दैलेखमा ४, हुम्लामा २ घर परिवार विस्थापित भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनूसार विगत ४ वर्षदेखी हालसम्म मुगुमा ३१ करोड २८ लाख ४४ हजार बराबरको क्षति भएको छ ।
यस्तै, जुम्लामा ११ करोड ६६ लाख ४७ हजारबराबरको धनमाल क्षति भएको प्रबक्ता एवं प्रहरी बरिष्ठ उपरिक्षक ओलीले जानकारी दिनु भएको छ । आगलागी तथा विभिन्न विपतका समयमा तत्काल उद्धारका लागी कर्णालीका १० वटै जिल्लाहरुमा प्रहरी निरिक्षकको नेतृत्वमा ३५ जना को टोली २४ घण्टानै उद्धारका लागी तयारी अवस्थामा रहेको प्रदेश प्रहरी प्रबक्ता ओलीले जानकारी दिनुभएको छ ।