पहाडी भेगका केही ठाउँमा आज हल्का वर्षाको सम्भावना

बैशाख २२, काठमाण्डौ । आज पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले अबको एक हप्ताभित्र हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरिसकेको छ । महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।
पश्चिमी न्यून चापीय प्रणालीले पानी पार्ने बादल नेपालसम्म ल्याउने देखिएकोले केही ठाउँमा पानी पर्ने मौसमविदले बताएका छन् । लामो समय पानी नपर्दा देशभर गर्मी र प्रदूषणसँगै आगलागीका घटना बढेका छन् ।