धानको बेर्ना सुकेपछि कालीकोटका किसान चिन्तित

जेठ १९ ,कालीकोट । कालीकोटका किसान यतिबेला चिन्तामा छन्। खेतमा रोपेको धानको बेर्ना सुक्दै गएपछि किसान चिन्तित भएका हुन् । लामो समय खडेरी परेका कारण खोला, मुहानबाट ल्याएको कुलो सुकेपछि धानको बेर्ना पनि सुक्दै गएको हो । एकातिर हिउँदे गँहुबाली पनि पानि नपरेका कारण सुकेको थियो ।
राष्कोट नगरपालिका–९ की अगुवा किसान बाटुल्ली उपाध्यायले गएका वर्षहरूमा नियमित वर्षा भएका कारण धानका बेर्नाहरू नसुकेको बताउनुभयो । जिल्लाको सबैभन्दा बढी धान उत्पादन हुने क्षेत्र राष्कोट नगरपालिका हो । तर धान, गहुँ उत्पादनमा आएको कमिले त्यहाँका किसानहरू दिन प्रतिदिन पलायन हुँदै गएका छन् । फुकोट–९ का किसान अनिलराज बरालले धानको बेर्ना सुकेपछि असारमा खेती गर्न नसकिने बताउनुभयो । जवान परिवार पाल्न विदेश जानुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
यस्तै जिल्लाको अलि बढी धान उत्पादन हुने क्षेत्र तिलागुफा नगरपालिकाको चिल्खाया हो । चिल्खायाका किसानहरू पनि निक्कै चिन्तित छन्। केही दिनअघि आएको सामान्य वर्षाका कारण किसानले खेतमा धानका बेर्ना राखे पनि पानी नपरेपछि धानका बेर्ना सुकेको चिल्खायाका स्थानीय धर्मराज शाहीले बताउनुभयो ।
उहाँले भने, ‘खडेरीका कारण धानबाली राम्रो हुने देखिएको छैन । यसका लागि स्थानीय सरकारले समयमै भोकमरी समस्या समाधान गर्न केही सोच्नुपर्ने हुन्छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरत बस्नेतले पानी जम्मा गर्ने पोखरी बनाएको ठाउँमा किसानलाई राहत पुगे पनि बाँकी ठाउँका किसानहरूलाई गाह्रो भएको बताउनुभयो ।
पलाँता गाउँपालिका–७ का किसान टोपबहादुर बमले पलाँता सिँचाइ क्षेत्र नभएकाले सरकारले समयमै विकल्प सोच्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजित बहादुर शाहीले जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूलाई बोलाएर खडेरीका विषयमा बैठक बस्ने बताउनुभयो ।