सुर्खेत, २६ जेठ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको श्रमाधान रोजगार मेला सम्पन्न भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा शुक्रबारदेखि सुरु भएको श्रमाधान रोजगार मेला शनिबार सम्पन्न भएको हो । रोजगारदाता रोजगारीको खोजिमा रहेकाहरुलाई जोड्ने उधेश्यले सुरु भएको श्रमाधान मेलामा पाँच सय जनाले रोजगारीका लागि फारम भरेको आयोजकले जनाएको छ । श्रमाधान रोजगार मेलामा ३ हजार पाँच सय बढी दर्शकले आवलोकन गरेको आयोजकले जनाएको छ । मेलामा विभिन्न खालका ४० वटा स्टलहरु राखिएका थिए ।
मेलाले रोजगारीका लागि अवसर सिर्जना गर्नुका साथै बेरोजगार युवाहरुलाई आगामी दिनमा कस्तो खालका सीप सिकेर रोजगार हुनसकिन्छ भन्ने सचेतना अभिबृद्धि भएको कार्यक्रम संयोजक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उप सचिव टिकाराम ढकालले बताउनुभयो ।
मेलामा विभिन्न कम्पनीहरुले विभिन्न क्षेत्रमा ३७७ जना कर्मचारी माग गरेका थिए । जसमा २६२ जनाले मात्रै आवेदन दिएका छन् । मेलामा रोजगारीका लागि फाराम भरेकाहरुलाई पछि सम्बन्धित कम्पनीले सीप परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरेर रोजगारीका लागि बोलाउनेछन् ।