गर्मीका कारण जनजीवन प्रभावित ः कतिपय जिल्लामा विद्यालय बन्द

 जेठ २९, काठमाण्डौ । अत्यधिक गर्मीका कारण तराई÷मधेशसहित देशका विभिन्न जिल्लामा जनजीवन प्रभावित बनेको छ । गर्मीका कारण बालबालिकामा बेहोस हुने, टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुनेलगायतका स्वास्थ्य समस्या पनि देखिन थालेका छन् । कतिपय जिल्लामा पठनपाठन प्रभावित हुँदा विद्यालय नै बन्द गरिएको छ ।
दैलेखको नारायण नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा गर्मी बिदा दिइएको छ । आजदेखि चार दिनका लागि सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको हो । बर्खे बिदामा कटौती हुने गरी बिदाको निर्णय गरिएको नारायण नगरपालिकाको शिक्षा अधिकृत पूर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो । दैलेखमा २० वर्षपछि उच्च तापक्रम ३८ डिग्री सेल्सियस रेकर्ड भएको छ ।
यस्तै चितवनको भरतपुर महानगरपालिकाले सबै विद्यालयमा आजदेखि ३२ गते शुक्रवारसम्म गर्मी बिदा दिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँले बिदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन र नदी–पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता काम गर्न नदिन, निगरानीसहितका सावधानी अपनाउन अभिभावकलाई आग्रह गर्नुभएको छ ।
त्यसैगरी कालिका नगरपालिका र रत्ननगर नगरपालिकाले पनि आज र भोलि दुई दिन बिदा दिएको छ । त्यस्तै खैरहनी नगरपालिकाले हिजैदेखि दुई दिन बिदा दिएको छ । पालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले यस्तै गर्मी रहेमा केही दिन बिदा थप हुन सक्ने बताउनुभयो ।
राप्ती नगरपालिकामा भौगोलिक क्षेत्रका आधारमा गर्मी हुने ठाउँमा बिदा दिइएको छ । कैलाली, पश्चिम नवलपरासीको बर्दघाट र रामग्राम नगरपालिका तथा सरावल र प्रतापपुर गाउँपालिकाले पनि विद्यालयमा गर्मी बिदा दिएका छन ।