दोस्रो काँक्रेविहार हाफ म्याराथनको तयारी पूरा

सुर्खेत ५ असाार ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संचालन हुन लागेको राष्ट्रिय स्तरको दोस्रो काँक्रेविहार राष्ट्रिय हाफ म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ ।
बुधबार म्याराथन प्रतियोगिता तयारीका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दोस्रो काँक्रेविहार हाफ म्याराथनका संयोजक प्रमोद हमालले विश्व ओलम्पिक डे का अवसरमा शुक्रबार हुन लागेको हाफ म्याराथनमा देशभरका दुई हजार बढी धावकहरू सहभागी रहने बताउनुभयो ।
एथेलेक्टिसका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काँक्रेविहारको पहिचान स्थापित गर्न र आसन्न दशौं राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा कर्णालीले जुनसुकै खेल पनि खेलाउन सक्छ भन्ने सन्देश प्रवाह गराउन म्याराथन आयोजना गरिएको हमालले बताउनुभयो ।
प्रतियोगितामा २१ किलोमिटर, दश, पाँच र तीन किलोमिटर दुरीमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ ।
उहाँका अनुसार हाफ म्याराथन २१ किलोमिटरको हुनेछ । पहिलो संस्करणमा कर्णाली प्रदेशका खेलाडी मात्रै सहभागी प्रतियोगितामा यस वर्षबाट देशैभरका धावक, धाविका सहभागी हुने हमालले बताउनुभयो ।
२१ किमीको दौडमा प्रथम हुने खेलाडीलाई एक लाख राशीको पुरस्कार प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको द्वितिय स्थान प्राप्त गर्नेले ५० हजार, तृतीय हुनेलाई ३० हजार र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ३० हजार रकम पुरस्कारस्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै, क्रमश १० किलोमिटर तर्फ प्रथम १०, द्वितीय ७ र तृतीय पाँच हजार, पाँच किलोमिटरतर्फ प्रथम पाँच, द्वितीय तीन र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई दुई हजार नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा पत्रकार, विद्यार्थी, बालबालिका लगायतलाई लक्षित गरी तीन किलोमिटर दौड प्रतियोगिता पनि समावेश गरिएको छ ।
दौड प्रतियोगिताको रुट वीरेन्द्रचोकबाट सुरु भएर मंगलगढी, एयरपोर्टचोक, सुब्बाकुना हुदै फेरि सोही रुट फिर्ता भएर सुब्बाकुना, मंगलगडीचोक हुँदै रेडियो नेपाल बांगेसिमल मोडबाट फिर्ता भई मंगलगढी, वीरेन्द्रचोक पुगेर समापन हुनेछ ।