स्काउटको ७३ औँ स्थापना दिवसका अवसरमा कर्णालीमा विविध कार्यक्रम


सुर्खेत, ५ असार ।
नेपाल स्काउटको ७३ औँ स्थापना दिवसका अवसरमा कर्णाली प्रदेश स्काउटले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
स्थापना दिबसको अवसरमा कर्णाली स्काउटले प्रदेश राजधानी वीरेन्द्रनगरमा हाजिर जवाफ, निबन्ध, चित्रकला र टाफिक नियम सम्बन्धि अन्र्तक्रिया साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दिवसका अवसरमा आज एक समाहरोहको आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित समारोहमा कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री जीतबहादुर मल्लले कर्णालीका सबै विद्यालयहरुमा स्काउट गतिविधि पुर्याउन आवश्यक रहेको बताउनुभयो । स्काउटले कर्तव्यनिष्ठ, अनुशासित एवं सफल नागरिक तयार गर्न योगदान गर्न भन्दै मल्लले सबै विद्यालयमा स्काउट गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । साथै माध्यामिक तहको पाठ्यक्रममा एउटा छुट्टै विषयका रुपमा स्काउटलाई समावेश गर्न आवश्यक रहेको पनि मल्लले औँल्याउनुभयो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका उपसचिव जहवारलाल हमालले प्रदेश सरकारले स्काउट सम्बन्धी नीति तथा कार्यक्रममा समावेश गरेर अगाडी बढेको बताउनुभयो । स्काउटको माध्यमबाट विधार्थीहरुको चौतर्फ विकासमा सहयोग पुग्ने बताउँदै उहाँले आगामी दिनमा स्काउट अभियानलाई अझै फैलाउन आवश्यक रहेको बताउनुभयो । नेपाल स्काउट कर्णाली प्रदेशका आयुक्त कमल बोहोराले स्काउटलाई प्रदेशका सबै विधालयसम्म पुर्याइ अतिरिक्त क्रियाकलापमा जोड्नुपर्ने बताउनुभयो । कर्णाली प्रदेश प्राकृतिक विपतका हिसाबले समेत जोखिमपूर्ण प्रदेश रहेकाले त्यस्ता जोखिम प्रतिकार्य, उदारका कार्यमा स्काउटलाई परिचालन गर्ने योजना बनाउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो । पछिल्लो समय प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा स्काउटको विषय समावेश गरेको भएपनि अझै स्पष्ट योजना आउन नसेकेको दुखेसो गर्नुभयो ।
दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगितामा उत्कृष्ठ विधार्थीहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । साथै कार्यक्रममा विधार्थीहरुले गीत, नाच, नाटक लगायतका विभिन्न प्रस्तुतीहरु पनि प्रस्तुत गरेका थिए ।