
सुर्खेत, १० असार ।
सुर्खेतको सिम्ता गाउँपालिकाले युवाहरुलाई कृषि र रोजगारीमा जोड्नेगरी आगामी आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
आज पालिकाको १५ औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा युवालाई उत्पादन, कृषि र रोजगारीमा जोड्ने उल्लेख गरिएको हो । गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उपज वृद्धिका लागि जग्गा चक्लावन्दी‚ मल तथा बिउबिजनमा अनुदान‚ कृषि यान्त्रिकीकरण गरी नविन प्रविधि हस्तान्तरणको व्यवस्था मिलाइउने र व्यवसायिक तथा सामुहिक कृषि खेतिमार्फत स्वरोजगार हुन युवालाई प्रोत्साहित गर्न कृषि क्षेत्रको रुपान्तरण गर्ने नीति लिइने उल्लेख गर्नुभयो ।
माटो परीक्षण नतिजाको आधारमा कृषि चून प्रयोगलाई व्यापकता दिने, कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउन घुम्ती कृषि प्राविधिक सहयोग कार्यक्रम सञ्चालन गर्ने र सहकारी संस्थाहरुको साझेदारीमा कृषि उत्पादन, प्रशोधन तथा बजारीकरण गर्ने नीति रहेको अध्यक्ष चन्दले बताउनुभयो । रैथाने बालीको उत्पादनलाई प्रोत्सहान गर्ने गाउँपालिकाको नीति छ ।
यस्तै सम्भाव्यताका आधारमा सिम्ता गाउँपालिकाको डाँडाखालीलाई ओखरखेती, वर्षे आलु, नाहागाउँलाई प्राङ्गारिक कृषि उत्पादन, सुन्तला, अर्गानिक तरकारी उत्पादन क्षेत्र, वडा नं.१ को सुन्तलामा तरकारी पकेट क्षेत्र, राकम, काप्रीचौर, जुगईखोला र आलीमा धान तथा गहु पकेट क्षेत्र, बैशपानी डोवखोलामा अनार खेतीको विकास गर्ने गाउँपालिकाको नीति छ । साथै काप्रीचौरको माथिल्लो क्षेत्रमा सुन्तला तथा फलफुल पकेट क्षेत्र, सिमलगाउँमा हिउदे आलु, सुन्तला तथा विउविजन उत्पादन पकेट क्षेत्र, डाँडाखाली र खानीखोलाको माथिल्लो क्षेत्रमा टिमुर पकेट क्षेत्र, आग्रीगाउँमा लसुन, अदुवा र नगदे बाली पकेट क्षेत्र र राकमलाई तरकारी, मकै, तोरी, तिल पकेट क्षेत्र, सिम्ता–द्ध मा अनार तथा बेसार पकेट क्षेत्र तथा सिम्ता–९ मा अदुवा र बेसार पकेट क्षेत्रका रुपमा विकास गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रम रहेको छ ।
कृषि उत्पादनलाई बढवा दिनका लागि कृषि योग्य जमिनको पहिचान गरी सिचाई कुलो निर्माणलाई विशेष प्राथमिकता दिने साथै साना तथा ठुला खोलानालाहरुको पानी संरक्षण तथा तटबन्ध निर्माण गर्ने उल्लेख गरिएको छ । यस्तै गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन गाई भैसिपालन, बाख्रापालन, कुखुरा पालन र मत्स्यपालनलाई प्रोत्साहन गर्ने र युवाहरुलाई पशुपंक्षी पालनमा आकर्षित गर्नको लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्ने गाउँपालिकाले नीति लिएको छ ।
रोजगारी प्रवद्र्धनगरी गरिवी न्यूनीकरणका लागि पनि नीतिमा प्राथमिकता दिइएको अध्यक्ष चन्दले उल्लेख गर्नुभयो । जस अन्तर्गत गाउँपालिकाभित्र बसोबास गर्ने विपन्न तथा गरीबहरुको तथ्याङ्क संकलन तथा अभिलेखिकरण गरि रोजगार रणनीतिक योजना बनाउने र अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना छ । अध्यक्ष रोजगार कार्यक्रम सञ्चालनका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । यस्तै युवा रोजगार तथा युवा सचेतना अृभिबृद्धि लगायतका काम गर्नका लागि गाउँ युवा परिषद पनि गठन गर्ने भएको छ ।
उपाध्यक्ष गोमा शर्मा रेग्मीले गाउँसभामा पेश गर्नुभएको आगामी बर्षको बजेट वक्तव्यमा पनि उत्पादनसंग युवा र रोजगारी जोड्ने कार्यक्रमहरु समावेश गरिएको छ । गाउँपालिकाले नवद्र्धनमा पनि युवाहरुलाई जोड्नेगरी बजेट छुट्याएको छ । उपाध्यक्ष शर्माले युवाहरुको लागि नविनतम खोज तथा नवपर्वद्धन कार्यक्रमको लागि ५ लाख बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो । साथै गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई युवा लक्षित साझेदारी व्यावसायिक पशुपालनमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ ।
यसका साथै गाउँपालिकाले प्रदेश सरकारसंगको समपूरक अनुदानमा विद्यालय भवन निर्माण, पूर्वाधार विकास कार्यक्रमसंगको साझेदारीमा सहिद ऋषि चक्रपथ र इन्द्र विसी द्रुतमार्ग स्तरोन्नती, विभिन्न विधालय भनव निर्माण लगायतलाई बजेटमा प्राथमिकतामा राखेको छ ।
भवन निर्माण तथा घर नक्सा नियमन सम्वन्धी कार्यविधि तयार गरी कार्यान्वयन गर्ने, गाउँपालिकाको समग्र सडक गुरु योजना निर्माण गर्ने गाउँपालिकाको योजना छ । आगामी आर्थिक बर्षका लागि उपाध्यक्ष शर्माले ५६ करोड ९५ लाख ८५ हजार ८८४ रुपैँयाको बजेट गाउँसभामा पेश गर्नुभएको छ ।
