असार १४, काठमाण्डौ । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन मुख्य तीन दलका शीर्ष नेता सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको बैठकपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउनुपर्छ भन्ने विषयमा शीर्ष दलका नेताहरु एकमत रहेको बताउनुभयो ।
विधेयकका जुन–जुन बुँदामा विगतमा सहमति जुट्न सकेको छैन ती विषयमा सहमतिमा पु¥याएर टुङ्ग्याउने भन्नेमा नेता एकमत भएका उहाँको भनाइ छ । शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा केन्द्रित बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई कसरी अगाडि बढाउने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी चाँडो टुङ्ग्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको मन्त्री गिरीले जानकारी दिनुभयो ।
उहाँले खासगरी मेलमिलापका सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमति, गम्भीर मानवअधिकार उल्लङ्घन र मानवअधिकार उलङ्घनको विषय, बालसेनामा भर्ती भनिएकाका विषयमा छलफल गरेर समान दृष्टिकोण बनाउनुपर्ने स्थिति रहेको बताउनुभयो ।
द्वन्द्वका बेला पीडित भएकालाई कसरी क्षतिपूर्ति दिनेलगायत विषयमा छलफल हुन बाँकी रहेको उहाँको भनाइ छ । यसअघि कांग्रेस र माओवादी गठबन्धन सरकारले अघि बढाउन खोजेको विधेयकमा पीडितलाई केन्द्रमा राखेर मात्रै सहमति जुटाउनुपर्ने भन्दै एमालेले प्रस्तावित विधेयकका प्रावधानमा केही असहमति राख्दै आएको थियो ।
प्रधानमन्त्रीले समीकरण बदलेसँगै एमाले सकारात्मक बनेको छ । शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्ग्याउन तत्काल कानुनी प्रबन्ध गर्ने, पीडितलाई केन्द्रमा राखी तथ्यका आधारमा सत्य स्थापित गर्ने, सत्यका आधारमा न्याय, क्षतिपूर्ति, परिपूरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व–सिर्जित पीडाको सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन गठबन्धन सरकारमा रहेका दलको सहमति छ ।
विधेयकलाई अन्तिम रूप दिन कार्यदल गठन गर्ने मुख्य दलको तयारी छ ।