कर्णालीमा उद्यमशीलता प्रेणा सम्मेलन हुँदै

असार १८, सुर्खेत। कर्णालीमा उद्यमशीलता प्रेणा सम्मेलन हुने भएको छ। राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानको आयोजनामा कर्णालीमा उद्यमशीलता वृद्धि गर्न उद्यमशीलता प्रेणा सम्मेलन आयोजना गर्न लागिएको हो ।
उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीले मंगलबार पत्रकार सम्मेलन गरी कर्णालीमा आयोजना हुन लागेको उद्यमशीलता प्रेणा सम्मेलनका विषयमा जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलको प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा राष्ट्रिय स्तरका सफल उद्यमी तथा व्यवसायीका साथै कर्णालीका उद्यमी युवा तथा उद्यम गर्न चाहने युवाहरूको व्यापक रुपमा सहभागिता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा उद्यमशील युवा सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीले भने, आर्थिक समृद्धि अहिले राष्ट्रको मूल मुद्दा हो । आर्थिक समृद्धि विना देशको विकास र नागरिकको जीवनस्तरमा आमूल रूपान्तरण सम्भव छैन । देशकै प्रमुख चुनौती बनेको आर्थिक अवस्था र बेरोजगारी समस्या हल गर्नका लागि व्यापक आर्थिक लगानी र उद्यमशीलता प्रवर्द्धन जरुरी छ ।
नीति निर्माता, बजार निर्माता र उद्यमशीलहरू एक ठाउँमा हुने यो सम्मेलनमा विभिन्न मन्त्रालय लगायत देशका नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुको सहभागिता रहनेछ । विभिन्न बैंक, बैंकरहरू, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु, उद्यमशीलता इकोसिस्टम साझेदारहरूका साथै निजी क्षेत्रका प्रतिनिधिहरू पनि सम्मेलनमा सहभागी हुनेछन् ।
उधमि बन्न चाहने र आफै स्वरोजगार बन्न चाहने युवाहरूको सहभागिता हुने सम्मेलनमा राष्ट्रिय, प्रदेश र स्थानीय तहका उद्यमशीलता इकोसिस्टम साझेदार र नीति निर्माताहरूसँग चरणवद्ध छलफल गरिनेछ । कार्यक्रममा उद्यमशीलता र आर्थिक विकाससँग सम्बन्धित विज्ञ र सरोकारवालाहरू, प्रादेशिक प्रतिनिधित्व हुने गरी युवा सहभागिता रहनेछ ।