तलब पाउने भएपछि जाजरकोटमा आन्दोलित स्वास्थ्यकर्मी फर्किए काममा

जाजरकोट, २९ असार (जागरण) । पाँच महिनादेखि तलबभत्ता नपाएको भन्दै काम गर्न छोडेका जाजरकोट अस्पतालका स्वास्थ्यकर्मीले आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् ।
लामो समयदेखि रोकिएको तलब अर्थमन्त्रालयले स्वीकृत गरेपछि आन्दोलनरत अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किएका हुन् ।
जिल्ला अस्पतालका प्रमुख डा. राजेन्द्र लामाले तलब निकासा हुने निश्चित भएकाले आन्दोलनका सबै कार्यक्रम स्थगित गरी काममा फर्किएको बताउनुभयो ।
भेरी नगरपालिकाले अर्थमन्त्रालयबाट तलब निकासा दिन स्वीकृति दिएको जानकारी गराएपछि आन्दोलन फिर्ता लिन आग्रह भएको हो । नगरपालिकाले तलब र भत्ता गरी एक करोड ३२ लाख माग गरेकामा हाललाई ९५ लाख स्वीकृति भएको नगरप्रमुख चन्द्र प्रकाश घर्तीले बताउनुभयो ।