कर्णालीमा ८३ प्रतिशत धानरोपाइँ सकियो

असार ३०, सुर्खेत । कर्णालीमा हालसम्म ८३ प्रतिशत रोपाइँ सकिएको छ । गत आर्थिक वर्षमा असार मसान्तसम्म ७३ प्रतिशत धान रोपाइँ भएको थियो । यो वर्ष चाँडै भारी वर्षा भएका कारण धान रोपाइँ चाँडै सकिने अवस्थामा पुगेको हो ।
कृषि विकास निर्देशनालय सुर्खेतका सम्पर्क व्यक्ति धनबहादुर रानाका अनुसार कर्णालीमा हालसम्म ८३ प्रतिशत रोपाइँ सकिएको बताउनुभयो । उहाँले जिल्लाअनुसार सुर्खेतमा १५ हजार २ सय ४० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हालसम्म ११ हजार ३ सय २१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । जुन कुल धानखेती हुने जमिनको ७५ प्रतिशतमात्र हो । बाँकी २५ प्रतिशत खेतमा धान रोपाइँ भइरहेको छ ।
यस्तै दैलेखमा कुल धानखेती हुने जमिन ७ हजार २ सय २५ हेक्टरमध्ये हालसम्म ५ हजार २ सय २ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । दैलेखमा हालसम्म ७२ प्रतिशत धान रोपाइँ सकिएको छ । रुकुम पश्चिममा धानखेती हुने जम्मा ३ हजार ४८ हेक्टर जमिनमा २ हजार २ सय ८६ हेक्टरमा रोपाइँ सकिएको छ । जुन ७५ प्रतिशत हो ।
यस्तै जाजरकोटमा धानखेती हुने जम्मा २ हजार ८ सय ५० हेक्टर जमिनमा २ हजार ५ सय ५६ हेक्टर जमिनमा धानखेती सकिएको छ । जुन ९० प्रतिशत हो । सल्यानमा कुल ६ हजार १ सय ३२ हेक्टरमा धानखेती हुँदै आएकोमा हालसम्म ५ हजार २ सय १२ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ । जुन ८५ प्रतिशत हो । हिमाली जिल्ला डोल्पामा जम्मा १ सय ९९ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म १ सय ८९ हेक्टर जमिनमा रोपाइँ सकिएको छ। जुन ९५ प्रतिशत हो ।
यस्तै मुगुमा कुल ५ सय ९१ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म ५ सय २ हेक्टर जमिनमा धान रोपाइँ सकिएको छ । जुन ८५ प्रतिशत हो । जुम्लामा २ हजार ९ सय ५० हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म २ हजार ८ सय ९१ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । जुन ९८ प्रतिशत हो ।
यस्तै, कालीकोटमा जम्मा २ हजार ५ सय १५ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म २ हजार १२ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । जुन ८० प्रतिशत हो। यस्तै हुम्लामा ५ सय ९९ हेक्टर जमिनमा धानखेती हुँदै आएकोमा हालसम्म ४ सय ९९ हेक्टर जमिनमा रोपाइँ सकिएको छ । जुन ७५ प्रतिशत हो । कृषि निर्देशनालयका प्रमुख चित्रबहादुर रोकायाले यो वर्ष समयमै रोपाइँ सकिने अवस्थामा पुगेकाले पटकपटक वर्षा हुँदा धान उत्पादनमा वृद्धि हुने अनुमान रहेको बताउनुभयो । उहाँले अनूसार धान उत्पादनमा वृद्धि हुँदा खाद्यान्न आयातमा पनि कमी आउने छ ।