सुर्खेत, ३० असार ।
सुर्खेतको सिम्ता गाउँपालिकाको सार्बजनिक सुनुवाई आइतबार सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा गुड अप्सन नेपालको सहजीकरणमा आर्थिक बर्ष २०८०÷०८१ को अन्तिम चौमासिकको सार्वजनिक सुवाई सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरुले उठाएका सवालका आधारमा विभिन्न चार बुँदे लिखित प्रतिबद्धताहरु गरिएको छ । सिम्ता सामाजिक उद्यमी महिला सहकारी संस्थाको अनुगमनगरी प्रभावकारी रुपमा सञ्चालन गर्ने, कृषिका लागि मल, विउ बिजनको प्रभावकारी रुपमा वितरण गर्ने, जनता आवास कार्यक्रम लगायत विपन्न वर्ग लक्षित कार्यक्रमहरु पारदर्शी एवं निश्पक्ष रुपमा सञ्चालन गर्ने र गााउँपालिकाको आगामी आर्थिक बर्षको योजना कार्यक्रम तथा बजेट बारेमा सम्बन्धित वडा मार्फत नागरिकहरुलाई जानकारी गराउने लिखित प्रतिबद्धता गरिएको हो । कार्यक्रममा सहभागीहरुले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने, गाउँपालिका र वडाबाट सञ्चालन गरिने कार्यक्रम योजनाबारेमा जानकारी गराउनुपर्ने, कृषि क्षेत्रलाई गाउँपालिको प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।
सहभागीहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले कार्यालयमा सुशासन र पारदर्शीताका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले गाउँपालिकाको रातो किताब छापेपछि आफ्ना वडाका नागरिकहरुलाई बार्षिक योजना कार्यक्रम बारे जानकारी गराउन पनि वडा अध्यक्षहरुलाई निर्देशन दिनुभयो । राजनीतिक प्रणालीबाट निर्वाचित भएपनि जनप्रतिनिधिहरुले निर्वाचित भइसकेपछि दलगत आस्थाका आधारमा सेवा प्रवाहमा विभेद गर्न नहुने अध्यक्ष चन्दले बताउनुभयो । उपाध्यक्ष गोमा शर्मा रेग्मीले सेवाग्राहीहरुले दिएका सुझावलाई ग्रहण गरेर आगामी दिनमा सेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सेवा प्रदान गर्ने कर्मचारी र आफूले मतदानगरी निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई आफ्ना कुरा राख्न पाउने लोकतान्त्रिक व्यवस्था भएको भन्दै सेवाग्राहीहरुलाई सधैँ निर्धक्कसंग सल्लाह सुझाव गुनासा राख्न आग्रह गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले चालु आर्थिक बर्षमा गाउँपालिकाको समग्र वित्तिय प्रगति ८५.९२ प्रतिशत रहेको जानकारी गराउनुभयो । उहाँले सेवा प्रवाहलाई सरल छरितो एवं प्रभावकारी बनाउनका लागि सधै प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा सेवाग्राही नगारिक, वडा सदस्य, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, इलाका प्रहरी कार्यालयका प्रमुख , विभिन्न समूह सञ्जाल लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।