नन्द कठायत
सुर्खेत, १० साउन ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा बजेट कार्यान्वयन बृद्धि गर्ने साझा प्रतिबद्धता गरेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा र चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट कार्यान्वयनको योजना तयारी सम्बन्धी बिहीबार प्रदेश राजधानीमा आयोजित गोष्ठीमा मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव, सचिव र कार्यालय प्रमुखहरुले विभिन्न नौ बुँदे साझा प्रतिवद्धता गरेका हुन् । प्रतिबद्धा अनुसार प्रदेश सरकार अन्तर्गतका जिल्लास्थित सबै कार्यालयले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रममा रहेका योजनाको विवरण (योजनाको नाम, कार्यान्वयन हुने स्थान, कार्यान्वयन अवधि तथा विधि, बजेट आदि) साउन मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी तथा कार्यान्वयन सहजीकरणका लागि पत्राचार गर्नेछन् । यस्तै स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक कार्यविधि, निर्देशिका तथा मापदण्डहरु भाद्र मसान्तभित्र तर्जुमागरीसक्ने र असोज १५ भित्र स्वीकृत गरिसक्ने प्रतिबद्धता गरिएको छ । स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गतका सालबसाली आयोजनाहरु असोज १५ भित्र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै वहुवर्षीय तथा क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता छ । सबैको तर्फबाट प्रतिबद्धता सुनाउँदै प्रमुख सचिव चुडामणि पौडेलले महालेखापरीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु फर्स्यौटको साउन मसान्तभित्र कार्ययोजना बनाइ तदारुकताका साथ कार्यान्वयन गर्ने साथै प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने आयका स्रोतहरुको पहिचान गरी राजश्वमा वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो । यस्तै आयोजना÷कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजनाको समयवद्ध र पूर्णरुपमा कार्यान्वयन गर्ने पनि प्रतिबद्धता उल्लेख गर्नुभयो ।
बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाइ प्रभावकारी र नतिजामूलक अनुगमन गर्ने, उपलब्ध स्रोत र साधनको मितव्ययी र कुशलतापूर्वक प्रयोग गर्दै आफ्नो निकायबाट प्रवाह गरिने सेवालाई नतिजामूलक, गुणस्तरीय, नागरिकमैत्री र प्रभावकारी बनाउने, र आगामी आर्थिक वर्षको वार्षिक नीति, बजेट तथा कार्यक्रमको तयारीको कार्यतालिका बनाइ दोस्रो त्रैमासिक देखि सुरुवात गरी समयवद्ध रुपमा योजना तर्जुमाको कार्यसम्पादन गर्ने पनि प्रतिबद्धता गरिएको छ ।
समिक्षा तथा कार्ययोजना गोष्ठीको अध्यक्षता गर्नुभएका मुख्यमन्त्री यामलाल कंडेलले पिछडिएको प्रदेश भएकाले अन्य प्रदेश सरह पुग्नका लागि दृढताका साथ तिब्र गतिमा काम गर्नुपर्ने बताउनुभयो । ‘सात प्रदेशको तुलनामा भौगोलिक अवस्था र विकासमा हामी पछाडी छौँ’ मुख्यमन्त्री कंडेलले भन्नुभयो,‘त्यसकारण कर्णालीको अवस्था बदल्नका लागि सबैले कार्यशैली बदल्न जरुरी छ ।’ सरकारले तय गरेका योजना तथा कार्यक्रम कार्यान्वयनका लागि कर्मचारीहरुको प्रमुख भूमिका हुने उल्लेख गर्दै मुख्यमन्त्री कंडेलले इमान्दारितापूर्वक कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो ।