भीम पाैडेल, रेडियाे भेरीगंगा
सुर्खेत, ३० असार (जागरण) । सुर्खेतमा कर्णाली प्रदेश स्तरिय औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु भएको छ ।
औद्योगिक क्षेत्र स्थापनाका लागि एक हजार विगाह जग्गा चाहिने भएकाले साटाखानीमा जग्गा अपुग भएपछिे भेरीगंगा नगरपालिकाका विभिन्न वडामा पनि आज स्थलगत अध्ययन गरिएको हो ।
कर्णाली प्रदेशका भौतिक पुर्वाधार मन्त्री खड्ग बहादुर खत्री, नगर प्रमुख भुपेन्द्र बहादुर चन्द, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक नन्दकिशोर बस्नेतलगायतको टोलीले स्थलगत अध्ययन गरेको हो ।
आज एक अन्तरक्रियामा औद्योगिक क्षेत्र स्थापनाका लागि भेरीगंगा नगरपालिकाले सामुदायिक वन, सार्वजनिक स्थल तथा वडा कार्यालयहरुबाट आवश्यक प्रक्रिया थाल्ने निर्णय गरेको जानकारी दिईएको छ ।
सम्भाव्यता अध्ययनका लागि संघीय सरकारबाट ४० लाख बजेट विनियोजन भईसकेको छ । जसमध्ये विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मुल्यांकनको कार्यको थालनी गरिने जनाईएको छ ।
यस क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त स्थान हेर्न सक्ने गरी प्रक्रिया अघि बढेको लिमिटेडका महाप्रवन्धक बस्नेतले जानकारी दिनुभयो ।
प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनासँगै कर्णाली प्रदेशका प्रत्येक नगरपालिका तथा गाउँपालिकामा समेत दुई सय रोपनी बराबरको जग्गामा औद्योगिक ग्राम निर्माण गरिने समेत बस्नेतले जानकारी दिनुभएको रेडियो भेरीगंगा सुर्खेतले खबर पठाएको छ ।