सुर्खेत, १३ साउन ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्थित समैजीघाटमा क्रियापुत्री वस्ने सुविधासहितको विश्रामस्थल निर्माण गरिएको छ ।
नेपाल निजामति कर्मचारी संगठन सुर्खेतले शहिद मनोज−झपेन्द्र−सुरेन्द्र स्मृति विश्रामस्थल निर्माण गरेको हो । नव निर्मित विश्रामस्थलको आइतबार उद्घाटनगरी सञ्चालनको लागि प्रशान्ति धार्मिक वनलाई हस्तान्तरण गरिएको छ । प्रदेश राजधानीमा डेरागरी वस्ने तथा अस्पतालमा उपचारकाक्रममा मृत्यु हुनेका आफन्तलाई काजक्रिया गर्न वीरेन्द्रनगरमा यसअघि सार्वजनिक स्थान नहुँदा समस्या हुँदै आएको थियो । समौजीघाट नजिकै निर्माण गरिएको प्रतिक्षास्थलले प्रदेश राजधानीमा घर नभएका मानिसहरुलाई राहत पुग्ने वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का अध्यक्षा खिमलाल देवकोटाले बताउनुभयो । उहाँले प्रदेश राजधानी बनेसंगै वीरेन्द्रनगरमा मानिसहरुको चाप बढेकाले सेवामूलक सार्बजनिक स्थलहरुको खाँचो रहेको बताउनुभयो ।
विश्रामस्थलको उद्घाटनपछि बोल्दै संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले पेशागत हकहित संरक्षणका साथै नेपाल निजामति कर्मचारी संगठनले विभिन्न सेवामूलक कार्य गर्दै आएको बताउनुभयो । विपन्न बालबालिकाको पढाइका लागि अभिभावकत्व लिने, विभिन्न ठाउँमा शहिद पार्क निर्माण, रक्तदान लगायत सामाजिक सेवाका कामहरु गर्दै उहाँले बताउनुभयो । संगठन सुर्खेतका अध्यक्ष हेमन्त चुनाराले सदस्य एवं शुभचिन्तकहरुलेको व्यक्तिगत सहयोगबाट प्रतिक्षास्थल निर्माण गरिएको बताउनुभयो ।