सुर्खेत, १५ साउन ।
अनुमतिविनै वीरेन्द्रनगर नगरपालिका १० मा सञ्चालन गरिएको राँगा बधशाला एक साताभित्र बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ ।
अवैध रुपमा सञ्चालन गरिएको उक्त राँगाबधशाला सात दिनभित्र बन्द गर्न वीरेन्द्रनगर नगरपालिकाले निर्देशन दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद शर्मासहितको टोलीले मंगलबार बधशालाको स्थलगत अनुगमनगरी एक हप्ताभित्र बन्द गर्न सञ्चालकलाई पत्र दिएको बुझाएको छ । विधिवत रुपमा सञ्चालनका लागि यसअघि पटक पटक पत्राचार गरिएकोमा मापदण्ड पूरा नगरेपछि बन्द गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । बधशाला सञ्चालनका लागि अनुमति नै नलिएको र न्यूनतम मापदण्डको पनि पालाना नगरेको अनुगमनका क्रममा पाइएको उहाँले जानकारी दिनुभयो ।
बधशाला सञ्चालनका लागि स्थानीय सरकार आफैले कानुन बनाउन सक्ने अधिकार भएपनि वीरेन्द्रनगरले हालसम्म कानुन बनाएको छैन । स्थानीय तह र कर्णाली प्रदेश सरकारले समेत ऐन नबाएको अवस्थामा संघीय सरकारले बनाएको पशु बधशाला र मासुजाँच ऐन २०५५ अनुसार नै हुने नगरपालिकाका पशु शाखा प्रमुख यज्ञ पाण्डे बताउनुभयो । राँगा बधबाट उत्सर्जन हुने फोहोरको उचित व्यवस्थापन नगरेका समुदायमा दुर्गन्ध फैलिएको हुँदा बधशाला तुरुन्तै बन्द गर्नुपरेको उहाँको भनाई छ ।
मापदण्ड विपरित बधशाला सञ्चालन गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा आयोगले आवश्यक कारबाही गर्नका लागि वीरेन्द्रनगर नगरपालिकालाई पत्राचार गरेको थियो ।