कर्णाली करिडोरको हुम्ला सडक सञ्चालनमा, नेपालगञ्जबाट ३२ दिनमा खार्पु पुगे ट्रक

साउन १८, हुम्ला । निरन्तरको वर्षापछि अवरुद्ध भएको कर्णाली करिडोरको हुम्ला सडकखण्ड सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै नेपालगञ्जबाट छुटेका मालबाहक ट्रक ३२ दिनपछि खार्पु पुगेका छन् । विभिन्न ठाउँमा अवरुद्ध भएका सडक चालक र सहचालकले मिलेर मर्मत गरेका हुन् ।
चालक खुसीराम थारुले अवरुद्ध भएका विभिन्न सडकखण्डमा आफूहरु सबै मिलेर ढुङ्गामुढा, माटो पन्छाउँदै आएको बताउनुभयो । उहाँले सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न मात्रै ११ दिन लागेको बताउनुभयो । अर्का चालक टोपेन्द्र महतले लेप्चे नजिक अवरुद्ध सडक नेपाली सेनाले खुलाए पनि बाँकी ठाउँमा भने आफूहरुले नै काम गरेको बताउनुभयो ।
नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकमा दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान ढुवानी गरिएका छन् । सडक अवरुद्ध हुँदा एक महिनायता सिमकोटमा ग्यास, मैदा, तेललगायत सामग्रीको भाउ बढेको थियो । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिकाको खार्पुदोभान जोडिएको छ ।
त्यहाँसम्म नेपालगञ्ज र सुर्खेतदेखि विभिन्न मालबाहक ट्रक र यात्रु बोकेका गाडी सञ्चालन हुँदै आएका छन् । खार्पुदोभानमा बेलिब्रिज पुल निर्माण नहुँदा त्यहाँदेखि झोलुङ्गे पुलमा मानिसले बोकेर कर्णाली तार्ने गर्दछन् । त्यही ठाउँमा पुल नबन्दा अझै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन ।