डोल्पा, ३० असार (जागरण) । विरोधका बावजुत डोल्पाको ठूलीभेरी नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । ५२ सदस्यमध्ये २५ नगर कार्यपालिका सदस्यले नगरसभा बहिष्कार गरेका थिए । २७ सदस्यको उपस्थितिमा बहुमतले नगरसभा सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
यसअघि दुनैमा रहेको नगरपालिकाको केन्द्र जुफाल सारिएपछि जनप्रतिनिधिबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।
बहुमत नगरसभा सदस्यको उपस्थितिमा जुफालमा नगरसगरभा सञ्चालन गरिएको नगरप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो ।
तर दुनै पक्षधर जनप्रतिनिधिले उपप्रमुख योगेन्द्रबहादुर शाही नेतृत्वमा छुट्टै बैठक गरेको बताएका छन् ।
नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सरेको भन्दै फागुन १४ गते राजपत्रमा प्रकाशित भएको थियो । त्यसविरुद्ध दुनै पक्षधर आन्दोलित भएका थिए । नगरप्रमुख शाहीले पटक–पटक कार्यपालिका सदस्यलाई बारम्बार पत्राचार र सार्वजनिक सूचना गरे पनि बेवास्ता गरेपछि विवादबीच नगरसभा गरिएको जानकारी दिनुभयो ।