अब फिरन्ते राउटे बने दैलेखका स्थायी बासीन्दा

दैलेख, ३० असार (जागरण) । जंगलमा फिरन्ते जीबन बिताउँदै आएका राउटेलाई परिचयपत्र वितरण गरिएको छ । दैलेखको गुराँस गाउँपालिकाले आज उनीहरुलाई परिचयपत्र वितरण गरेको हो ।
राउटेहरुको स्थायी ठेगाना गुराँस गाउँपालिका वडा नम्बर ८ कायम भएसँगै अब उनीहरु त्यहाँका स्थायी बासीन्दा बनेका छन् ।

राउटेलाई परिचयपत्र वितरण गर्दै गाउँपालिका अध्यक्ष खेमराज वली

सामाजिक विकास मन्त्रालयका सचिव गिरीजा शर्माले राउटेका पुर्व मुखिया महिनबहादुर शाहीलाई परिचयपत्र हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
राउटेले परिचयपत्र पाएसँगै अब गुराँसका स्थायी बासिन्दा बनेको र उनीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न समेत सहज हुने गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताउनुभयो ।
कर्णाली प्रदेशका विभिन्न जंगलमा बस्दै आएका ४२ घर परिवारका १ सय ४९ जना राउटेहरु अहिले स्थानीय गर्चे खोलामा बसीरहेका छन् ।
परिचयपत्र पाएपछि राउटे मुखिया विरबहादुर शाहीले आफूहरुले पहिलोपटक सरकारी परिचयपत्र पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
प्रदेश ७ को अछाम र कर्णालीका दैलेख, सुर्खेत तथा प्रदेश ५ का दाङसम्मको जंगलमा फिरन्ते जीवन जिउँदै आएको यो समुदायलाई यसअघि नै नागरिकता दिन पहल गरेका थिए ।
तर उनीहरुले आफूहरु जंगलको राजा भएकाले जंगलमा बस्नेलाई नागरिकता दिएको कुनै अर्थ नभएको भन्दै स्वीकार गरेनन् । सरकारले लोपोन्मुख घुमन्ते राउटे जातीलाई सामाजिक सुरक्षा भत्ता दिन सहजताका लागि परिचय–पत्र दिएको हो । परिचय पत्र दिएसंगै राउटे गुराँसका स्थायी बासी भएका छन् । उनीहरु बसोबास सरेर जहाँ गएपनि गुराँस गाउँपालिकाले नै अबदेखी सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ ।

फिरन्ते जाती राउटेलाई तत्काल सामान्य जीवनयापन गर्न नसकिने भएकाले विस्तारै यस्ता गतिविधि सञ्चालन गरेर स्थायी बसोबास गराउन सकिने तर्क जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेको छ । सरकारले नै पठाएको निर्णयानुसार राउटे बस्तीमै पुगेर परिचय–पत्र बाँडिएको गुराँस गाउँपालिकाका अध्यक्ष वलीले बताउनुभयो । राउटेलाई दिएको परिचयपत्रका आधारमा उनीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता हुने पनि विश्वास उहाँको छ ।