साउन २७, सुर्खेत । आउँदो मङ्सिर २ गतेदेखि कर्णाली प्रदेशमा सञ्चालन हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आज सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश रङ्गशालामा लोगो र मस्कटसहित सय दिने दिनको काउन्टडाउन सार्वजनिक गरेको हो ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको सय दिने काउन्टडाउन शुरु घोषणा कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले समयमै निर्माणकार्य सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहहरू लागि परेको बताउनुभयो ।
कार्यक्रममा सात वटा रङ्गमा सात वटा प्रदेशका खेलाडी, कर्णालीको हिमाली भेगमा पाइने नेपालको राष्ट्रिय चरा डाँफे, नेपालको राष्ट्रिय झण्डा, बगिरहेको कर्णाली नदी अंकित लोगो समेत सार्वजनिक गरिएको छ । कर्णालीले सार्वजनिक गरेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट भने कर्णालीको हिमाली जिल्लामा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा रहेको छ ।