कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशस्तरीय इनफ अभियानको घोषणा, सबै क्षेत्र हातेमालो गरेर अगाडी बढ्नुपर्ने मुख्यमन्त्री कंडेलको भनाई


सुर्खेत, ३१ साउन । कुपोषण अन्त्यका लागि कर्णाली प्रदेशस्तरीय इनफ अभियानको घोषणा गरिएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज एक कार्यक्रमका बीच मुख्य मन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कंडेलले कर्णालीमा कुपोषणको अन्त्यका लागि सबै सरोकारवाला संगसंगै अगाडी बढ्ना आवश्यक रहेको बताउनुभयो । कँडेलले कुनै बेला दरबारलाई पोषिला र मूल्यावन खाधान्न कोशेली पठाउने कर्णाली पछिल्लो समय कुपोषणयुक्त अवस्थामा आइपुगेको परिस्थिलाई बदल्न जरुरी रहेको बाताउनुभयो ।


कँडेलले कर्णालीमा निजि क्षेत्र तथा गैरसरकारी संस्थाहरुलाई सरकारसँग हातेमालो गर्दै काम गर्न आग्रह गर्नुभयो ।
वल्र्ड भिजन इन्टरनेशनल नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), किर्डाक नेपाल, सामाजिक सेवा केन्द्र नेपाल र पाँचतारा युवा संरक्षक मञ्चको संयुक्त आयोजनामा अभियानको घोषणा गरिएको हो ।
इनफ अभियानको घोषणा कार्यक्रमा वर्ल्डभिजन इन्टरनेशनल नेपालका एडभोकेसी तथा क्यापियन म्यानेजर श्याम अधिकारीले नेपाल सरकारले लिएका नीति तथा योजनालाई पूरा गर्नका लागि इनफ अभियानले सघाउने विश्वास लिइएको बताउनुभयो ।
जुम्ला, जाजरकोट र दैलेख गरी कर्णालीका ४३ वडामा वर्ल्ड विभजनले काम गरिरहेको जानकारी दिँदै उहाँले ‘नेपाली जुटौँ, बालविवाह रोकौँ’ अभियानपछि इनफ अभियान सुरुवात गरिएको उल्लेख गर्नुभयो ।
‘यो अभियान सफल गराउनका लागि तीनै तहका सरकारसँग समन्वय भएको छ । कर्णालीमा पनि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर अभियान सफल हुने विश्वास लिएका छौँ ।’ एडभोकेसी तथा क्यापियन म्यानेजर अधिकारीले भन्नुभयो ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताउनुभयो । प्रांगारिक उत्पादनबाट कुपोषण न्यूनीकरण गर्ने कर्णालीको योजना रहेको उहाँले बताउनुभयो । कुपोषण अन्त्यका लागि कृषि क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उहाँको भनाई छ ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले बालबालिकाको उचित बृद्धि विकास र स्वस्थ नागरिक तयार गर्न पोषण अत्यावश्यक हुने भन्दै त्यसको परिपूर्तिका लागि अभिभावक, सरकार, साझेदार सबैले सहकार्यमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले कर्णालीमा प्रर्याप्त पोषणयुक्त खाधान्न उत्पादन हुने भएकाले त्यसको वितरण, उपभोग र स्वस्थ्य आहार बारे जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले कर्णालीको कुपोष अन्त्यका लागि आगामी पञ्च बर्षिय योजनामा स्पष्ट उल्लेख गरेर कार्यान्वयनमा लैजाउने बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत रमेश खड्काले पोषणको अवस्थामा सुधार भए पनि बाल मृत्युदर घट्न नसकेको उल्लेख गर्नुभयो ।


उहाँले कृषि विकासका कार्यक्रमहरू सञ्चालनको लागि नीतिगत व्यवस्था तयार हुनु, सरकार र राजनितीक तहबाट अपनत्व ग्रहण गर्नु, अन्तराष्ट्रिय, राष्ट्रिय, प्रादेशिक र स्थानीय तहसम्मका नीति तथा कार्यक्रममा खाद्य सुरक्षा तथा पोषण सुरक्षाको विषयले महत्व पाउनु, कर्णाली प्रदेश रैथाने बालीको भण्डार भएकोले यसको उपयोग र प्रवर्दधनको सम्भावना भएको लगायतका विषय प्रदेशको अवसरको रुपमा रहेको उल्लेख गर्नुभयो ।
प्रदेशका अधिकांश भू–भागहरूमा विषादीरहित खेती गरिने भएकोले स्वास्थ र पोषीलो हुने बताउँदै कर्णाली प्रदेशका रैथाने बालीको ब्राण्डीङ (मुल्यवान लोगोको प्रयोग) गरी गरिबीको न्यूनिकरण गर्न सकिने सम्भावना रहेकोमा पनि उहाँले जोड दिनुभयो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव गोविन्द शाहीले कुपोषण अन्त्यका लागि सबै सरकारी तथा गैरसरकारी निकाय एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रियस्तरमा पनि कुपोषणको अवस्था डरालाग्दो देखिँदै गएको भन्दै उहाँले कर्णाली प्रदेशमा घोषणा गरिएको इनफ अभियान सफल बनाउनका लागि गैरसरकारी निकायबाट सतप्रतिशत साथ रहने प्रतिबद्धता जनाउनुभयो ।