जाजरकोटको कुसेका शिक्षक दुई सातादेखि बेपत्ता

भदौ ५, कर्णाली । जाजरकोटको कुसे गाउँपालिका–७ धनरासी गाउँका ३८ वर्षीय शिक्षक धनबहादुर शाही दुई सातादेखि नेपालगञ्जबाट सम्पर्कविहीन भएका छन् । शाही कुसे–७ स्थित जनता माध्यमिक विद्यालय समाइलामा अनुदान कोटामा कार्यरत नेपाली शिक्षक हुन् ।
उनी गत साउन १४ गते घरबाट नेपालगञ्ज गएका थिए । साउन २५ गते नेपालगञ्ज बसपार्क गेट नजिक रहेको मीना दैलेखी होटलबाट बेलुका ४ बजे बाहिरिएपछि सम्पर्कमा नआएको घरबाट सँगै हिँडेका आफन्त गोपी सिंहले जानकारी दिनुभयो ।
गत साउन २६ गतेसम्म आउनुहुन्छ कि भनेर कुरेको बताउँदै धनबहादुर नआएपछि घरमा ससुराबुबा हंसबहादुर शाहीलाई खबर गरेको सिंहले बताउनुभयो । ससुरा नेपालगञ्जमा आएर खोज्दा नभेटिएपछि आफैँ निवेदक भएर नेपालगञ्ज जिल्ला प्रहरी कार्यालयमा खोजिदिन लागि उजुरी हालेको उहाँले बताउनुभयो । यही भदौ २ गते नेपालगञ्जबाट जाजरकोट फर्किसकेका सिंहले सम्पर्कविहीन शाहीको खोजीमा सहयोग गरिदिन सबेलाई आग्रह गर्नुभयो ।
शिक्षक शाहीका बुबा हंसबहादुरले छोरा र ज्वाइँ गोपी सिंह सोही होटेलमा सँगै बसेको तर साउन २५ गते बाहिर गएर आउँछु भनेर निस्किएको छोरा नफर्केको खबर पाएपछि आफू त्यही पुगेको बताउनुभयो ।
होटल धनीलाई पछि तिरौँला भन्ने भाका गरी घर फर्केको पीडित शाहीले दुखेसो पोख्नुभयो । हराएको धेरै दिनसम्म सम्पर्कमा नआएपछि जतिसक्दो चाँडो खोजी दिन उनले प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो । उक्त होटल धनी मीना सुनारले गत साउन १७ गते आफ्नो होटलमा पुगेका दुवै जना दश दिन जति होटलमा बसेका बताउनुभएको छ ।