जनसंगठनका पदाधिकारीलाई एमाले सुर्खेतकाे प्रशिक्षण


सुर्खेत, ८ भदौ ।
नेकपा एमाले जन संगठन संयन्त्र सुर्खेतले जनसंगठका पदाधिकारी र सदस्यहरूलाई प्रशिक्षण दिएको छ ।
नेकपा एमाले जनसंगठन संयन्त्रका केन्द्रिय प्रमुख भानुभक्त ढकालको उपस्थितिमा आज वीरेन्द्रनगरमा प्रशिक्षण आयोजना गरिएको हो । जनसंयन्त्र प्रमुख ढकालले नेकपा एमालेको नेतृत्वमा मात्रै मूलुकको विकास र समृद्धि संभव हुने बताउनुभयो । उहाँले विकास र समृद्धिका लागि गरेका संकल्प पूरा गर्न एमालेलाई आगामी निर्वाचनबाट बहुमतले निर्वाचित गराउन लाग्न आग्रह गर्नुभयो । स्थायी कमिटि सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले आर्थिक सामाजिक रूपान्कतरणका लागि आ(आफ्नो क्षेत्रमा भूमिका खेल्न सुझाव व्यक्त गर्नुभयो ।

केन्द्रिय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले जनताको बहुदलिय जनवाद र समाजबाद, केन्द्रिय सदस्य ठम्मर बिष्टले संगठनात्मक सिद्धान्त र कार्यदिशा, केन्द्रिय सदस्य मोहनमाया ढकालले महिला नेतृत्व र अनेम संघ, केन्द्रिय स्कूल विभाग सदस्य गेहेन्द्र दाहालले व्यक्तित्व र नेतृत्व साथै कर्णाली प्रदेश कमिटि सचिव ध्रुवकुमार शाहीले समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिनुभयो । जनसंगठन संयन्त्र सुर्खेतका प्रमुख शुशिला विश्वकर्माले आगामी दिनमा सबै जनसंगठनहरुले जिल्ला र पालिका स्तरमा प्रशिक्षणमूलक कार्यक्रम आयोजना गर्ने कार्ययोजना रहेको बताउनुभयो । प्रशिक्षणमा एमाले सम्बद्ध विभिन्न २३ वटा जन संगठनका करिब दुइ सय जनाकाे सहभागिता रहेकाे थियाे ।