नेपालमा पनि एमपक्सको जोखिम तर कोरोना जस्तो आत्तिनु नपर्ने डाक्टरहरूको भनाइ

भदौ १६, काठमाण्डौ । अफ्रिका र युरोपेली देशमा देखिएको एमपक्स अर्थात् (मङ्की पक्स) को जोखिम नेपालमा पनि रहेको डाक्टरहरूले बताएका छन् । तर कोरोना भाइरस जस्तो आत्तिनु नपर्ने उनीहरूको भनाइ छ ।
जनस्वास्थ्यविद् डा.शेरबहादुर पुनले विश्वका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट भित्रिन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । जापानमा पढेका र तालिम लिएका नेपालीको संस्था जाइका एमुनाई एशोसिएशनले काठमाण्डौमा गरेको कार्यक्रममा डा.पुनले विगतमा स्वाइन फ्लू र कोभिडको प्रकोप पनि दक्षिण एशियाली क्षेत्रसम्म त्यसैगरी आइपुगेको बताउनुभयो ।
अरु ठाउँमा देखिएको प्रकोपलाई गम्भीरतापूर्वक लिनुपर्ने र ढुक्क भएर बस्ने अवस्था नरहेको उहाँको भनाइ छ । यद्यपि मङ्की पक्ससम्बन्धी अहिलेसम्मको चिकित्सा अनुभवले यो कोभिड जत्तिको खतराजनक नभएको देखिएको डा. पुनले बताउनुभयो ।
यसलाई अहिलेसम्म ठेउला जस्तै छालामा हुने सङ्क्रामक रोगका रुपमा चिकित्सा विज्ञानले बुझेको उहाँले बताउनुभयो । सन् १९५८ मा बाँदरहरुमा देखिएको मङ्की पक्स रोग सन् १९७० मा कङ्गोका एक जना नौ वर्षे बालकमा भेटिएपछि मानव शरीरमा पनि सङ्क्रमण हुने कुरा पत्ता लागेको थियो । ज्वरो, कडा टाउको दुखाइ तथा अनुहार र हातमा खटिरा आदि यस रोगका लक्षण हुन् । अहिले यो रोग विश्वका ४० देशमा पुगिसकेको छ । नेपालमा अहिले डेङ्गी र हैजाको समस्या बढ्दै गएको छ । डेङ्गीबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न र हैजालगायतका अरु सरुवा रोगबाट जोगिन पानी र खानासँगै सरसफाइमा ध्यान दिन जनस्वास्थ्यविद्को सल्लाह छ ।