भदौ २२, कालीकोट । कर्णाली राजमार्गको तिलागुफा–५ खल्लागाडमा एसएमएल हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ भने ३ जना सामान्य छन् । १५ जना सवार गाडी ओरालो सडकमा ब्रेक नलाग्दा मोड्ने क्रममा सडकमै पल्टिएको छ । सुर्खेत जाँदै गरेका सिंजा–३ का ५२ वर्षीय धनमाने सार्की, सोही ठाउँका ६० वर्षीय मनजीते सार्की, ६५ वर्षीया जर्मा सुनार, सोही गाउँकी ६४ वर्षीया मनकन्या चौलागाई, जुम्ला कनकासुन्दरी ६ का ३९ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताउनुभयो ।
कालिकोटको तिलागुफा नगरपालिका–८ का तिलप्रसाद न्यौपाने, जयचन्द्र चौलागाई र पूर्ण प्रसाद चौलागाईं पनि घाइते भएको स्थानीय तथा प्रत्यक्षदर्शी मनमोहन पाण्डेले बताउनुभयो ।
घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ। गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरोले क्षत विक्षत गरेर कर्णाली राजमार्ग जोखिमपूर्ण अवस्थामा छ ।