एमाले सुर्खेतको बार्षिक कार्ययाेजना पारित


सुर्खेत २५ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी ‐एमाले० सुर्खेतको दोस्रो बैठक वार्षिक कार्ययोजना पारित गरेको सम्पन्न भएको छ । सोमबार जिल्ला पार्टी कार्यालय हटिया चौकमा बसेको दोस्रो पूर्ण बैठकले विभिन्न निर्णयहरू गर्दै बार्षिक कार्ययोजना पारित गरेको हो ।
एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका मुख्मन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा भएको बैठकमा केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज, केन्द्रीय सल्लाहकार परिषद् सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो ।
बैठकलाई समबोधन गर्दै स्थायी कमिटी सदस्य कँडेलले पार्टीको अबको लक्ष्य मिसन २०८४ भएकोले त्यसलाई केन्द्रमा राखेर पार्टी गतिविधि तथा अभियानहरू अघि बढाउन निर्देशन दिनुभयो । उहाँले पार्टी निर्माणको काममा उत्साहित भएर लाग्न आग्रह गर्नुभयो । नेता कँडेलले निराशाका कुरा गरेर अघि बढ्न नसकिने भन्दै आशा र उत्साहको सञ्चार हुने गरी काम गर्न जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू लाई सुझाव दिनुभयो ।


यस्तै, बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवराज रावत, केन्द्रीय सदस्य मोहनमाया ढकाल र ठम्मर बिष्टले वार्षिक कार्ययोजना अनुरुप पार्टी कमिटीहरूले सक्रियताका साथ काम गर्नुपर्ने धारणा राख्नुभएको थियो । एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार दोस्रो पूर्णबैठकले पार्टीका अभियानलाई व्यवस्थित र प्रभवकारी रूपले अघि बढाउने निर्णय गरेको छ । बैठकले एमालेको जनाधार थप बलियो बनाउन यो वर्ष आवश्यक प्रशिक्षण, भेला, विषयगत अन्तरक्रिया र सम्वादहरूलाई निरन्तरता दिने कार्ययोजना रहेको तिमिल्सिनाले जानकारी दिनुभयो ।