सुर्खेत ३१ भदाै ।
जागरण एफ एम आजदेखि १६ औँ बर्षमा प्रवेश गरेको छ । हातेमालो जागरण बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित जागरण एफ.एम.९०.८ २०६५ भदौ ३१ गते देखि प्रशारणमा आएको थियो ।
‘जनताको जागरण’ गर्ने मूल ध्येयका स्थापना गरिएको जागरण एफ एमले समुदायका धेरै भन्दा धेरै नागरिकहरुको सहभागितामा समुदायकै सवालहरुलाई उठान गर्ने हेतुले सहकारीका माध्यमबाट सञ्चालन गरिएको छ । जागरण एफ एमले सधैँ नागरिकसँग सरोकार राख्ने विषयवस्तुलाई प्राथमिकतका साथ उठान् गर्दै आएको छ । मुख्यगरी सूचनामूलक, शिक्षामूलक र मनोरञ्जनात्मक कार्यक्रमलाई आफ्नो प्रसारणका मुख्य क्षेत्र बनाएको छ । जसअन्तर्गत विशेषगरी, शिक्षा, स्वास्थ्य तथा सरसफाई, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, मानव अधिकार, शान्ति तथा आर्थिक विकास सम्वन्धी कार्यक्रमहरु जागरण एफ.एमबाट प्रसारण भैरहेका छन् ।
देशको संरचना संघीय संघीयतामा गइसकेपछि प्रदेशभरीका सवालहरुलाई थप साझा रुपमा उठाउनका लागि उद्देश्य मिल्ने अन्य रेडियोहरुसंग सहकार्यगरी कर्णाली प्रदेशका सबै जिल्लाका सामुदायिक रेडियो मार्फत जागरण एफ.एम.ले तयार गर्ने कर्णाली रैबार लगायतका कार्यक्रमहरु प्रसारण गरिरहेको छ । साथै कर्णालीका आवाज संघीय राजधानीमा पनि सुनाउनुपर्छ भन्ने उद्देश्यले काठमाण्डौँ उपत्यकामा नेपाल एफ.एम. नेटवर्कसहित कर्णालीका सबै जिल्लाबाटगरी हाल ३१ वटा रेडियोहरुबाट जागरण एफ.एम.ले तयार गर्ने ‘कर्णाली रैबार प्रसारण भैरहेको छ । डिजिटिल प्रविधिको विकाससंगै सञ्चारका साधनहरुको प्रयोगमा आएको परिवर्तनलाई ख्यालगरी onlinejagaran.com, मोवाइल एप्लिकेशन, फेसबुक, टिकटक, ट्वीटर र युट्युवबाट पनि आफ्नो कार्यक्रमहरु प्रसारण गर्दै आएको छ ।