बाढीपहिरोमा परी अहिलेसम्म ८ जनाको मृत्यु, आज दिनभर घनघोर वर्षाको सम्भावना

असोज १२, काठमाण्डौ । अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा विपदका घटनामा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । पहिरोबाट पाँचथर, धनकुटा, काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौ र ललितपुरलगायत जिल्लामा मानवीय क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
केही बेपत्ता रहेका छन् । तर क्षतिको पूरा विवरण आउन बाँकी नै छ । यस्तै चार सयभन्दा धेरै नागरिक विस्थापित भएका र उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी ठाउँमा बाढीपहिरो लगायतका घटना भएका छन् । सबैजसो राजमार्ग, मुख्य सडकमार्ग अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।
यस्तै, देशका धेरै ठाउँमा हिजोदेखि नै घनघोर वर्षा भइरहेको छ । आज दिनभर यसैगरी पानी परिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा घनघोर वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिनभर कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा भने घनघोर वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लगातार वर्षा भइरहेको ठाउँका नदी र खोलामामा बाढी आएको छ ।
अरू ठाउँमा पनि जोखिम रहेकाले नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
भोलिदेखि भने मौसममा सुधार आउने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुन कायमै रहेकाले भोलिदेखि पनि सामान्य पानी पर्ने सम्भावना त छ तर हिजो र आजजस्तो लगातार र ठूलो पानी पर्ने सम्भावना भने छैन ।